कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ का गोपालसिंह कार्कीले माछापालन व्यवसायबाट वार्षिकरुपमा रु २० लाख बढी आम्दानी गर्दै आएको छ। उनले पाँच बिघा १० कट्ठा जग्गामा नौ पोखरी निर्माण गरी माछापालन गर्दै आएको छ। वडामा भित्र सो व्यवसायबाट सबैभन्दा बढी आम्दानी गर्नेमा उनी पहिलो नम्बरमा छन्।
उनी निर्वा्चित वडासदस्य हुन्। उनको पोखरीमा रोहु, नैनी, कमन, ग्रास, भ्याकुर, विगेट र पंगासिस जातका माछा पालिएका छन्। वार्षिक रु एक करोड बढी खर्च हुन्छ उनले भने, ‘तर रु २० लाख बढी आम्दानी हुँदैन।’ वार्षिकरुपमा ३०० क्विन्टल बढी माछा पोखरीमा उत्पादन हुने गरेको छ।
उत्पादित माछा स्थानीय बजारसँगै डडेल्धुरालगायतका जिल्लामा खपत हुने गरेको छ। व्यावसायिक माछापालनमा तालिम समेत लिएका उनले सातवर्ष अगाडि व्यवसाय शुरुआत गरेको थियो। उनको माछा फार्ममा चार कामदारले रोजगारी पाएका छन्। उनले भने, ‘माछापालनलाई व्यावसायिकरुपमा गरिए गतिलो आम्दानी लिन सकिन्छ।’
उनले नगरपालिकाबाट पोखरी निर्माणका लागि रु तीन लाख अनुदान रकमसमेत पाएको छ। उनले माछापालनसँगै कुखुरापालन समेत गर्दै आएका छन्। वडाध्यक्ष सुरेन्द्र विष्टले समेत पोखरी निर्माण गरी माछापालनमा संलग्न भएको छ। पन्ध्र कट्ठा जग्गामा पोखरी निर्माण गरी चार हजार भुरा हालेको उनले जानकारी दिएका छन्।
गत वर्ष पोखरीबाट दुई क्विण्टल माछा बिक्री भएको थियो उनले भने, ‘यस वर्ष पोखरीमा भुरा बढी छाडिएकाले आम्दानीमा बढोत्तरी हुन्छ।’ वडालाई माछा पकेट क्षेत्रमा विकास गर्ने कार्य अगाडि बढाइएको छ। अधिकांश किसान व्यावसायिकरुपमा माछापालनमा सम्लग्न रहेका छन्।
नगरपालिकाले पोखरी निर्माण गर्ने किसानलाई प्रतिकट्ठा रु १० हजारका दरले अनुदान दिने व्यवस्था गरेको छ। थोरै मेहनतमा माछापालनबाट गतिलो आम्दानी हुने भएपछि माछापालनमा लागेको स्थानीय किसान देवराज कलौनीले बताएका छन्। उनले भने, ‘माछापालनबाट खेतीभन्दा दश गुणा बढी आम्दानी हुँदै आएको छ।
खेती गरेर थोरै आम्दानी हुन्थ्यो।’ माछा उत्पादनमा नगरपालिकालाई आत्मनिर्भर बनाउन योजनाबद्धरुपमा कार्यक्रम अगाडि सारिएको नगर प्रमुख सुरेन्द्र विष्टले जानकारी दिएका छन्। माछाका भुरा, औजार र पोखरी निर्माणलगायतमा अनुदानको व्यवस्था गरेका छौँ उनले भने, ‘किसानलाई माछापालनमा व्यावसायिक बनाउनका लागि तालीम दिई दक्ष बनाउनका लागि वडा र नगरस्तरबाटै कार्यक्रम सञ्चालन गरिएका छन्। (रासस)