एजेन्सी– दक्षिण कोरियामा आवश्यक हुने अदक्ष कामदारका लागि लिईदै आएको सीप परिक्षण परिक्षा कानुन बिपरित रहेको प्रवासी मजदुर युनियनले जानकारी दिएका छन्।
रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत अदक्ष कामदार आपूर्ति गर्ने क्रममा मानव संशाधन विकास केन्द्रले लिने भाषा परीक्षा र सीप परिक्षण परीक्षा (स्कील टेस्ट) मध्ये पछिल्लो पद्धति स्किल टेस्ट कानुन विपरीत रहेको युनियन अध्यक्ष उदय राईले बताएका छन्।
अध्यक्ष राईका अनुसार स्कील टेस्ट दक्ष कामदारका लागिमात्र तय गरिरहेको परीक्षा पद्धति हो, तर एचआरडी कोरियाले दक्ष कामदार छनौट गर्न यो पद्धति लागु गरेको छ।
कोरिया मजदुर संगठन प्रतिनिधिहरुले एचआरडी पदाधिकारीहरुसँग स्कील टेस्टका नाममा लाखौ खर्च गरेर लिखित परिक्षा उत्तिर्ण गरेका परीक्षार्थीलाई कोरिया आउनबाट बन्चित गराउन नहुने माग राखेका थिए। शुक्रबार भएको बैठकमा एचआरडी प्रवासी बिभाग प्रमुखले आगामी बर्षका लागि स्किल टेस्ट बारेमा नियम परिवर्तन भैसकेको जानकारी गराएको अध्यक्ष राईको भनाई छ।
सन् २०२० को लागि २०१९ मा लिइएको लिखित परीक्षामा १२ हजार १० जना उत्तिर्ण भए पनि स्कील टेस्टमा ६ हजार ७ सय ७३ जनाको नाम मात्र प्रकाशन गरिएको थियो।अनुत्तिर्ण परीक्षार्थीले स्कील टेस्ट पारदर्शी नभएको भन्दै बैदेशिक रोजगार विभागमा सच्याउन माग गरेपछि १ सय ३५ लाई पुन उत्तिर्ण गराइएको थियो।