भक्तपुर– भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयको क्रिकेट मैदानमा सोमबारदेखि विद्यालयस्तरीय १३ औं प्रधानसेनापति कप टी ट्वेन्टी रनिङ क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ।
सैनिक आवासीय महाविद्यालयको आयोजनामा हुने उक्त प्रतियोगितामा १३ विद्यालयका १४ वटा टीमको सहभागिता रहेको छ। आयोजक सैनिकका दुई टीमले प्रतिस्पर्धा गर्दैछन्।
विद्यालयस्तरमा सर्वा्धिक धनराशी पुरस्कार भएको प्रतियोगितामा सैनिकसँगै केएमसी, ग्यालेक्सी, युनाइटेड एकेडेमी, आदर्श जनप्रेमी, ज्ञान निकेतन र नेपाल प्रहरी स्कुलको सहभागिता रहेको छ। त्यस्तै मोक्षदा, जेम्स, डीएभी, नेक्सस, अक्षरा र रोजबडले पनि प्रतियोगितामा भाग लिएका छन्।
सहभागी स्कुलहरुलाई चार समूहमा विभाजन गरिएको स्कुलका खेलकुद संयोजक रणजीत राणाले जानकारी दिए। उनका अनुसार समूह ए र बीमा तीनतीन तथा समूह सी र डीमा चारचार विद्यालय रहेका छन्। लिगकम नकआउटमा खेलाइने खेलका समूह विजेता र उपविजेता सिधै क्वार्टरफाइनलमा पुग्ने संयोजक राणाले बताए।
प्रतियोगिताको तालिकाअनुसार माघ २७ गते सैनिक र केएमसीबीच उद्घाटन खेल हुनेछ। त्यसलगत्तै नेक्सस र नेपाल प्रहरीबीच अर्को लिग चरणको स्पर्धा हुनेछ। प्रतियोगिताको विजेताले रनिङ शिल्डसँगै एक लाख रुपैयाँ नगद पुरस्कार हात पार्नेछ। उपविजेताले भने पचास हजार रुपैयाँ जित्नेछ।
त्यस्तै प्रतियोगितामा खेलाडीहरुले व्यक्तिगत रुपमासमेत पुरस्कार पाउने व्यवस्था गरिएको छ। जसअनुसार खेलाडीहरुलाई उनीहरुको प्रस्तुतिको आधारमा म्यान अफ द सिरिज, उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट फिल्डर, उत्कृष्ट बलर र उत्कृष्ट उदीयमान खेलाडी घोषित गर्दै नगदले पुरस्कृत गरिनेछ। गत वर्ष व्यक्तिगत उत्कृष्ट घोषित खेलाडीहरुलाई ट्रफी र नगद चारचार हजार रुपैयाँले पुरस्कृत गरिएको थियो।
प्रतियोगिताको १२ औं संस्करणसम्म आयोजक सैनिकसँग कुनै पनि स्कुलले उपाधि खोस्न सकेको छैन । गत वर्ष सैनिकलाई टक्कर दिएर दोस्रो स्थानमा चित्त बुझाएको राजन मेमोरियल स्कुलले यस वर्ष भने प्रतियोगितामा भाग लिएन। राजनसँग टीमको अभावले प्रतियोगितामा भाग लिन नसकिएको जनाएको संयोजक राणाले बताए।प्रतियोगिता फागुन १३ गतेसम्म चल्ने तालिका बनाइएको छ। भक्तपुर सैनिक क्रिकेट (विद्यालयस्तरीय १३ औं प्रधानसेनापति कप टी ट्वेन्टी रनिङ क्रिकेट) प्रतियोगिताको तालिका।