लमही, २७ माघ - दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित मावि कालोखोलाको भवन ‘मिनरल वाटर’का बोतल प्रयोग गरी निर्माण गर्न थालिएको छ। विगत ८ वर्षदेखि अलपत्र अवस्थामा रहेको उक्त विद्यालय भवनलाई टिच फर नेपालका स्वयंसेवकले जथाभावी फालिएका मिनरल वाटरका बोतल प्रयोग गरेर निर्माण शुरु गरेका हुन्।
दाङमा पहिलो पटक यस्तो खालको भवन निर्माण हुन थालेको छ। विसं २०६७ देखि अलपत्र परेको भवन निर्माण कार्यलाई टिच फर नेपालका स्वयंसेवक, उक्त विद्यालयका विद्यार्थी, शिक्षकले खेर गइरहेका प्लाष्टिकको बोतलबाट भवनको दुई कोठा निर्माण गर्न शुरु गरेका हुन् ।
टिच फरका विसं २०७६ को नयाँ शैक्षिकसत्रदेखि देशभरका विभिन्न स्थानमा स्वयंसेवक शिक्षकका रूपमा जान लागेको भन्दै उनीहरूलाई समाजसँग घुलमिल गराउनका लागि उक्त अभियानअन्तर्गत शनिबार भवन निर्माण थालनी गरिएको कार्यकारी प्रमुख शिशिर खनालले बताए।
उनका अनुसार पहिलो दिन लामो समयदेखि अर्थाभावमा निर्माण गर्न नसकिएको उक्त विद्यालयलाई आफैँ सक्रिय भएर पनि निर्माण गर्न सकिन्छ भन्ने चेतना दिन श्रमदान गरिएको हो। उनले बजारमा जथाभावी फालिएका बोतलबाट भवन निर्माण गर्न सकिने र कम खर्चिलो हुने भन्दै विद्यालयमा मिनरलको बोतमा बालुवा, सिमेन्ट, माटो मिसार भर्ने अनि सुकाएर इँटाका रूपमा प्रयोग गरेर भवन निर्माण गर्न सकिने बताए।
आफ्ना स्वयंसेवकलाई आवासीय तालिम, समुदायसँग घुलमिल गर्ने अभ्यास दिन विद्यार्थीकै घरमा बस्ने, त्यहाँको वातावरण अवगत गराउने गरेको उनको भनाइ छ। देशभरिका करिब १ सय स्वयंसेवकले दिनभर भवन निर्माणको काम गरेका हुन्। त्यसका लागि तुलसीपुर उपमहानगरपालिकाले २ लाख रुपैयाँ, टिच फर नेपालले १ लाख रुपैयाँ र सोना सिमेन्टले ३० बोरा सिमेन्ट उपलब्ध गराउने आश्वासन दिएका छन् । अहिले ७ सयभन्दा बढी विद्यार्थी रहेकाले कक्षाकोठा अभाव रहेको उनको भनाइ छ।
प्राविधिक शिक्षालयको भवन निर्माण शुरु
दाङ तुलसीपुर–११ मा रहेको अमर माध्यमिक विद्यालयमा पशु विज्ञान भवन निर्माण शुरु भएको छ। दाङ क्षेत्र नं. ३ को पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतको ५० लाख रुपैयाँ बजेटमा उक्त भवन निर्माण हुन लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादर केसीले बताए।
उनका अनुसार १२ कोठाको दुईतले भवण निर्माण हुनेछ। यस वर्षदेखि पशु विज्ञानको मान्यता पाएको उक्त विद्यालयको भवन निर्माणकार्य पूरा भएसँगै कक्षा सञ्चालनमा आउने प्रधानाध्यापक पदमप्रसाद न्यौपानेले बताए।
विद्यालय भवनको शिलान्यास प्रतिनिधिसभा सदस्य हीराचन्द्र केसीले गरेको हो। त्यस अवसरमा सांसद केसीले आफ्नो निर्वाचन क्षेत्रका तीन विद्यालयलाई प्राविधिक शिक्षालयका लागि सहयोग गरेको बताए। (रासस)