एजेन्सी– चीनमा अहिले निकै खतरनाक कोरोनाभाइरस फैलिइरहेको छ। यो भाइरसका कारण अहिलेसम्म झण्डै ७ सय जनाको ज्यान गइसकेको छ। तर, यही भाइरसले चीनमा एक युवतीको इज्जत र ज्यान बचाएको छ। घटना चीनको वुहान शहरको भएको डेलिमेलले लेखेको छ।
चीनमा एक युवतीलाई बलात्कार गर्ने नियतले एक युवक आएका थिए। युवकले उनलाई बलात्कार गर्ने प्रयास गरेपछि युवती आत्तिइन्। डराएकी युवतीले खोकेको नाटक गर्दै आफू कोरोनाभाइरस पीडित भएको बताइन्। युवतीको यो आइडियाले काम गर्यो। बलात्कार गर्ने नियतले आएका ती युवक डराए र युवतीलाई छोडेर भागे।
आरोपीको नाम शियो भएको बताइएको छ। उनी करिब २५ वर्षका छन्। पुलिसका अनुसार वुहान शहरमै यी युवक युवतीको घरको ढोका फुटाएर बेडरुममा छिरेका थिए। बेडरुममा घुसेर युवतीसँग जबरजस्ती गर्न लागेपछि युवतीले आइडिया लगाएर आफू कोरोना पीडित भएको बताएकी थिइन्। युवतीका अनुसार उनले आफू भर्खरै अस्पतालबाट आएको बताएकी थिइन्।