महेन्द्रनगर– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले कञ्चनपुरको मझँगाउ विमानस्थल पुनः सञ्चालनमा ल्याइने बताएका छन्। शनिबार कञ्चनपुरको भीमदत्तनगरपालिका–१६ स्थित बन्द अवस्थामा रहेको मझँगाउ विमानस्थलको अनुगमन गर्दै मन्त्री भट्टराईले तीन वटै सरकारको लगानीमा पुनः सञ्चालनमा ल्याउने बताए।
स्थानीय, प्रदेश र संघीय सरकारको लगानीमा यो विमानस्थल पुनः सञ्चालन हुन्छ। मन्त्री भट्टराईले भनेः यसका निम्ति आवश्वयक प्रक्रिया अघि बढाउछौं। उनले विमानस्थलको क्षेत्रफल विस्तार गर्नुपर्ने अन्य क्षेत्रका साथै समग्र विषयमा जानकारी लिएका छन्। नागरिक उडड्यन मन्त्रालयको प्राविधिक टोलीले गत कात्तिकमा विमानस्थलको अध्ययन प्रतिवेदनसमेत तयार पारेको थियो।
टोलीले ५० सिटको जहाज सञ्चालन गर्न कुनै समस्या नरहेको जानकारी गराइसकेको छ। २०५६ सालमा असुरक्षाका कारण देखाउदै विमानस्थल बन्द भएको थियो।