खाेटाङ– हलेसी तुवाचुङ नगरपालिकाले सबै वडामा सार्वजनिक सुनुवाइको शुरुआत गरेको छ। विनियोजित बजेटमार्फत सञ्चालित योजनाको प्रभावकारिता तथा जनताको गुनासो सुन्न नगरपालिकाले शनिबारबाट वडास्तरमा सार्वजनिक सुनुवाइको थालनि गरेको हो।
वडा नं १ बाहुनीडाँडाबाट शुरु गरिएको सुनुवाइ कार्यक्रम आगामी फागुन ७ गते सम्पन्न हुने जनाइएको छ। ११ वडा रहेको उक्त नगरपालिकामा आज वडा न २ डिकुवा र १० अर्खौले, २७ गते ३ च्यास्मिटार र ९ सल्ले, २८ गते ४ बडहरे र वडा नं ६ मङ्गलटार, २९ गते वडा नं ५ दुर्छिम र ७ महादेवस्थन अगामी फागुन १ गते वडा नं ८ धितुङ र ११ राजापानी तथा फागुन ७ गते नगरस्तीय सार्वजनिक सुनुवाइ गरिने नगरपालिकाले जारी गरेको सूचनामा जनाइएको छ।
नगरपालिकाले हालसम्म गरेको कामको समीक्षा, सम्पन्न भइसकेका र चालू अवस्थामा रहेका योजनाका बारेमा जानकारी दिने, जनताको रायसुझाव र गुनासो सुन्न तथा समृद्ध नगर बनाउन सबैसँग हातेमालो गर्ने उद्देश्यले सुनुवाइको आयोजना थालेको नगरप्रमुख इवन राईले जानकारी दिएका छन्। ‘सार्वजनिक सुनुवाइ पश्चात नगरपालिकाले दिँदै आएको सेवाप्रति जनताको चासो र गुनासो समाधान हुने विश्वास लिएका छौँ’, उनले भने।
‘नगरपालिकाले गरेका राम्रा कामको जानकारी जनस्तरसम्म पुया्उन नसकिरहेको अवस्थामा यस कार्यक्रमले जनप्रतिनिधिको उद्देश्य वा नगरपालिकाको कामप्रति जनतालाई स्पष्ट पार्न सहयोग पुग्नेछ।’ काम गर्दा कतिपय ठाउँमा कमजोरी भएको हुनसक्ने भएकाले आगामी दिनमा सच्याउने अवसरका रुपमा कार्यक्रमलाई हेरिएको नगरप्रमुख राईले जानकारी दिएका छन्।
(रासस)