डोटी– पर्यटन वर्ष सन् २०२० लाई सफल पार्न डोटी चेम्बर अफ कमर्सले आउँदो फागुन १ गतेबाट डोटीको दिपायलमा दोस्रो सुदूरपश्चिम प्रादेशिक महोत्सवको आयोजना गर्ने भएको छ। महोत्सवका लागि आवश्यक तयारी भइरहेको आयोजक संस्थाले जनाएको छ।
प्रादेशिक महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको जनाइएको छ। जिल्लामा उत्पादन हुने स्थानीय खाद्यवस्तु तथा कला संस्कृतिको संरक्षण तथा पर्यटन वर्ष २०२० लाई सफल पार्नका लागि महोत्सव आयोजना गरिन लागेको आयोजक सस्थाका अध्यक्ष खगेन्द्रबहादुर साउदले जानकारी दिएका छन्।
उनले भने, ‘पर्यटन वर्ष सफल पार्न तथा कला संस्कृतिको संरक्षणका लागि हामीले महोत्सवको आयोजना गर्दैछौँ, सबैको सहयोग आवश्यक छ।’ महोत्सव अवधिभरिमा सेतीनदीमा जलयात्रा, प्यारागलाइडिङको आयोजना गरिने जनाइएको छ। फागुन १० गतेसम्म जारी रहने महोत्सवे दिपायलस्थित दिल्पेश्वर मठमा आयोजना हुने भएको छ।
(रासस)