बागलुङ– बागलुङ नगरपालिका–३ ले वडाभित्र रहेका अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री वितरण गरेको छ। तीन ‘ह्वीलचियर’, पाँच ‘कमटट्वाइलेट’, दुई ‘ब्लाइण्ड स्टिक’ र चार ‘डिसेवल स्टिक’ प्रदान गरिएको वडा कार्यालयले जनाएको छ।
अपाङ्गता भएका व्यक्तिको जीवनयापनमा सघाउन सहायता सामग्री वितरण गरिएको वडाध्यक्ष लक्ष्मी बाँस्कोटाले जानकारी दिएका छन्। वडाले चालू आवमा रु ५० हजार बजेट सो कार्यमा विनियोजन गरेको थियो।
सहायता सामग्रीको सहयोगबाट अपाङ्गताका कारण हिँडडुल गर्न नसक्ने, शौचालय जान नसक्ने र न्यून दृष्टि भएका व्यक्तिले लाभ लिएका छन्। वडा कार्यालयबाट सहायता सामग्री पाएपछि अपाङ्गता भएका व्यक्ति खुशी छन्। (रासस)