बागलुङ– एक सातादेखि बेपत्ता काठेखोला गाउँपालिका–७ की १२ वर्षीया सन्ध्या बस्याल सकुशल भेटिएकी छिन्। उनलाई चितवनको एक होटलमा काम गर्न बसेको अवस्थामा नेपाल प्रहरीले फेला पारेको हो।
‘चितवन प्रहरीको सहयोगमा बालिकालाई उद्धार गरी शुक्रबार साँझ अभिभावकको जिम्मा लगाइसक्यौँ’ जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी सहायक निरीक्षक अनु राईले भनिन्, होटलमा रहेको सूचनाका आधारमा प्रहरीले बालिकालाई भेट्टाएको हो।
यही माघ १७ गते बिहान ८ः३० बजे घरबाट हिँडेकी बस्याल नफर्केपछि परिवारजन पीडामा थिए। साता दिन बित्दासमेत बालिका सम्पर्कमा नआएपछि प्रहरी, अभिभावक र स्थानीयवासीले खोजीकार्य तीव्र पारेका थिए। उनी गाउँकै रेश नुन्थला माध्यमिक विद्यालय कक्षा ५ मा पढ्छिन्। (रासस)