चिप्लेढुङ्गा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा महानगरपालिका–११ मा ‘पिस रिट्रिट सेन्टर’ को शिलान्यास गरेका छन्।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पोखराद्वारा शनिबार आयोजित कार्यक्रममा उनले सो सेन्टरको शिलान्यास गर्दै समाजमा नैतिक चेतना विकास गर्न सहयोग पुया्उने विश्वास व्यक्त गरेका छन्। मुख्यमन्त्री गुरुङले आध्यात्मिक शिक्षामार्फत समाजमा तनाव र भ्रष्टाचार अन्त्य गर्न जोड दिएका छन्।
माउण्ट आबूका वरिष्ठ राजयोग प्रशिक्षक राजयोगिनी शिलुले अध्यात्मको शक्तिले संसार बदल्न सक्ने भन्दै अहिंसाको साझा सङ्कल्पले समाजलाई सुन्दर बनाउने बताएका छन्। संस्थाका निर्देशक राजयोगिनी ब्रह्माकुमारी परिणीताले दिव्य अनुभूति केन्द्र सबै आध्यात्मिक मनहरुको साझा घर भएकाले यसबाट दिव्यज्ञान फैलाएर समाजलाई सकारात्मक रुपान्तरण गर्न जोड दिनुपर्ने बताएका छन्।
कार्यक्रममा प्रदेशका आन्तरिक मामिला एवं कानूनमन्त्री हरिबहादुर चुमान, प्रदेशसभा सदस्य राजीव पहारी र मीना गुरुङ, विन्दुकुमार थापा संस्थाका सल्लाहकार राजयोगी दीपेन्द्र अधिकारी, संस्थाका महासचिव शैलेश बराल, ब्रम्हकुमारी दुर्गालगायतले शुभकामना दिएका थिए।
शिला अनावरण, शिवध्वजारोहण, देवी नृत्य, भजनलगायतका प्रस्तुतिहरु रहेको कार्यक्रम सञ्चालक राजयोगी ब्रकु शिशिर रेग्मीले जानकारी दिएका छन्। (रासस)