एजेन्सी– ट्रोलको सिकारमा परेकी बलिउड अभिनेत्री तापसी पन्नुले ट्रोलर्सलाई कडा जवाफ दिएकी छिन्। शनिवार दिल्लीको विधानसभा चुनावमा मतदान गरेको तस्बिरमाथि ट्रोल बनाएपछि उनले त्यसको जवाफ दिएकी हुन्।
उनले सामाजिक सञ्जालमा औंलामा भोट हालेको निशान भएको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी थिइन्। सामाजिक सञ्जालमा उनले सेयर गरेको तस्बिरमा एक जनाले लेखेका छन् ‘जुन व्यक्ति मुम्बईमा बसोबास गर्छ। त्यो व्यक्तिले हाम्रो लागि के निर्णय गर्न सक्छ ? तापसी मुम्बई गएकी वर्षौ भइसक्यो। उनले उनको मत पनि मुम्बईमा नै हाल्नुपर्छ।’
उनको जवाफ दिदैँ तापसीले लेखेकी छिन्, ‘कसैको पनि नागरिकतामाथि सवाल उठाउने अधिकार कसैलाई छैन। म दिल्लीमा पनि उत्तिकै बस्छु। कर पनि दिल्लीमै तिर्छु। कृपया !मेरो नागरिकतामाथि सवाल नउठाउनुहोस्। तपाईं तपाईंकै बारेमा चिन्ता गर्नुस्।’
अभिनेत्री पन्नुले अगाडि लेखेकी छिन्, ‘तपाई दिल्लीबाट कुनै पनि केटीलाई निकाल्न सक्नुहुन्छ। तर कुनै पनि केटीको दिलबाट दिल्लीलाई निकाल्न सक्नुहुन्न। तपाईं को हो र मलाई यो गर र त्यो गर भनेर सिकाउने ?’