भद्रपुर – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले काँकडभिट्टामा खुलेको हिकोला हेरटेज होटलको आज उद्घाटन गरेाका छन्। साे अवसरमा उनले मुलुकको आर्थिक विकासको मेरुदण्डका रुपमा पर्यटन क्षेत्रले योगदान दिएको चर्चा गर्दै नेपाल भ्रमण वर्ष २०२० मा प्रदेश न १ मा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको बताएका छन्।
होटल सञ्चालक देवीभक्त श्रेष्ठले नेपाल आउने पाहुनालाई देशको पूर्वीद्वार काँकडभिट्टामा स्वागत तथा सत्कार गर्न हिकोला हेरिटेज प्रतिबद्ध रहेको बताएका छन्। होटलमा रु पाँच करोड लगानी भएको, सुविधासम्पन्न २१ कोठा र २ सय मानिस अट्ने क्षमताका दुई सभाहल रहेका उनले जानकारी दिए।
विसं २०४२ मा हिकोला कलरल्याब स्थापना गरेर फोटोग्राफी र कलरल्याब व्यवसायमा लागेका उनी साहित्य चौतारी झाापाका संस्थापक अध्यक्ष एवं संरक्षक छन्। साहित्य र गायनमा स्थापित श्रेष्ठको ‘जाउँजाउँ अर्जुन धारा जाउँ’ स्वरको भजन अति लोकप्रिय रहेको छ। विसं २०७२ मा विर्तामोडमा ‘हिकोला हेरिटेज’ नामक होटल स्थापना गरेकाे उनले सोही नामको अर्को होटल काँकडभिट्टामा सञ्चालन गरेको हो। (रासस)