एजेन्सी– महारानी एलिजाबेथ द्वितीयकी नातिनी राजकुमारी बिट्राइसले इटलीका व्यापारी एडवर्ड मापेली मोजीसँग बिहे गर्दै छिन्। बकिंघम प्यालेसले यसको जानकारी दिएको छ। बकिंघम प्यालेसले बताएअनुसार राजकुमारी बिट्राइसको बिहे २९ मेमा हुनेछ। विवाह कार्यक्रम सेन्ट जेम्स प्यालेसको च्यापल रोयलमा हुनेछ। बिट्राइस र मापेलीले मिलेर यो ठाउँ रोजेका हुन्।
पछि बकिंघम प्यालेसमा एक रिसेप्सन हुनेछ जसको आयोजना महारानी स्वयंले गर्नेछिन्। ड्युक अफ योर्क र डचेस अफ योर्ककी ३१ वर्षीय छोरी राजकुमारी बिट्राइसले गएको सेप्टेम्बरमा इटलीमा आफ्ना ब्वाइफ्रेण्डसँग इंगेजमेन्ट गरेकी थिइन्।
बिट्राइसकी दिदीको बिहे २०१८ मा आइटिभीमा प्रत्यक्ष प्रसारण गरिएको थियो तर अहिलेको समारोह प्रसारण गर्ने कुनै योजना नभएको बकिंघम प्यालेसले जनाएको छ।