काठमाडौं– प्यालिएटिभ केयर क्यान्सर र अन्य दीर्घकालीन घातक रोग भएका व्यक्तिका लागि विश्वव्यापी एक अत्यावश्यक मानवीय आवश्यकता हो।
बिरामीलाई क्यान्सरका उपचार शुरु भएदेखि नै प्यालिएटिभ केयरको आवश्यकता पर्दछ। क्यान्सरको उपचारमा दिइने केमोथेरापी, रेडियोथेरापीका कारण ‘साइड इफेक्ट’ का रूपमा थुप्रै समस्या आउन सक्छन्।
मानिसहरु ‘दीर्घरोग लाग्यो अब मरिहालिन्छ’ भन्ने सोचेर झनै कमजोर बन्न पुग्छन्। यो अवस्थामा मनोसामाजिक परामर्श समेत आवश्यकता पर्छ। प्यालिएटिभ केयरमा उनीहरुलाई परामर्श समेत दिने गरिन्छ। क्यान्सर अन्तिम अवस्थामा पुग्दा बिरामीमा दुखाइ, पीडा, तनाव, चिन्ता, थकाइ, बान्ता र अनिन्द्रा समस्याले सताउने गर्छ।
बिरामीको शारीरिक, मानसिक र सामाजिक रूपमा अवस्थामा हेरविचार गरी गुणस्तरमा सुधार ल्याउनु नै प्यालिएटिभ केयरको मुख्य उद्देश्य हो। उनीहरुको रोगले गाँजेको जीवनलाई सहज बनाउने काम यस सेवामा पर्दछ।
क्यान्सरको अन्तिम ‘स्टेज’ मा पुगेपछि बिरामी धेरै नबाँच्ने हुनाले बिरामीको मृत्यु नजिकिंदै गर्दा पीडा बढी हुँदै जान्छ र यस्तो अवस्थामा बिरामीलाई स्वास्थ्यको ख्याल गर्दै सेवा दिइन्छ।
यस्तो अवस्थामा जीवनलाई जति सक्दो राम्रोसँग जिउन र मृत्युको सहजतामा मद्दत पुर्याइन्छ। बिरामीका यी असहजता र अप्ठ्याराहरूको उपचार गर्ने विधि नै प्यालिएटिभ केयर हो।