काठमाडौं– बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा आफ्ना नेतालाई प्रतिवादी बनाइएको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तेस्रो पटक पनि संसद बैठक अवरुद्ध पारेको छ।
आफ्नो पार्टीका उपसभापति तथा संसदीय दलका उपनेता विजय कुमार गच्छदारलाई सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गरेको अभियोगमा प्रतिवादी बनाइएपछि नेपाली कांग्रेसले लागतार संसद वैठक अवरुद्ध पार्दै आएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारसहित १ सय ७५ जनालाई प्रतिवादी बनाएर बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। त्यस यता कांग्रेसले बिहीबार र शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा अवरोध गरेको थियो। शुक्रबार स्थगित भएपछि आइतबार बोलाइएको बैठकमा पनि कांग्रेसले अवरोध सिर्जना गरेको छ।
आइतबारको बैठक शुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए। कांग्रेसका सांसदहरुको अवरोध पछि सभामुख अग्नि सापकोटाले मंगलबारसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका छन्। प्रतिनिधि सभाको अर्को बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ।
पूर्वउपप्रधान तथा मन्त्री गच्छदारविरुद्ध अख्तियारले ९ करोड बढी बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ। कांग्रेसले भने पूर्वाग्रहपूर्ण तरिकाले अख्तियारले आफ्ना नेताविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको भन्दै सदन र सडकमा विरोध जनाइरहेको छ।