काठमाडौं– दम बालबालिकामा हुने श्वासप्रश्वास सम्बन्धी प्रमुख समस्या हो। फोक्सोको एलर्जीले गर्दा बालबालिकामा दम हुन्छ। दमले बच्चाको दैनिक क्रियाकलापको साथै निद्रा, शैक्षिक गतिविधि र विकासमा समेत नराम्रो असर पार्छ।
दमका लक्षणहरु
१. सुख्खा खोकी– लामो समय निको नहुने खोकी,
२. श्वास गति छिटो हुने,
३. श्वास फेर्दा सिटीजस्तो आवाज आउने,
४. छाती गह्रुङ्गो हुने, दुख्ने।
यसको पहिचान
स्पइरोमेट्री मुख्य जाँच हाे,६ वर्षभन्दा कम उमेरका बालबालिकामा यो परीक्षण गर्न गाह्रो पर्छ। यो रोग लक्षणहरुबाट पत्ता लगाउन सकिन्छ।बालबालिकामा पहिलादेखि नै नाकको एलर्जी, छालाको एलर्जी छ अथवा परिवारका सदस्यमा दम र अन्य एलर्जी छ भने दम हुने सम्भावना बढी हुन्छ।
उपचारः
यो रोगको औषधि दुई किसिमका हुन्छन्। औषधि बाफको (निबुलाइजेसन) माध्यमबाट दिइन्छ।
१. तुरुन्त काम गर्ने (रिलिफर अथवा रेस्क्युअर) औषधि
यी औषधीहरूले छिटो आराम गराउँछ र आकस्मिक अवस्थामा पनि यसकाे प्रयोग गरिन्छ।
२. लामो समयसम्म काम गर्ने (प्रिभेन्टर)
यी औषधिहरुले फोक्सोमा एलर्जीले हुने सुजन एन्फ़्लमेसन बाट जोगाउँछ। औषधिहरु लामो समय प्रयोग गर्नुपर्छ।
रोकथाम
दमको रोकथामका उपायहरु जस्तैः दम रोगलाई उत्पन्न गराउने तथा बढाउन सक्ने तत्वहरु जस्तै धुवाँ, धुलो, परागका कण, चुरोटको धुवाँ, चिसोबाट बचाउनुपर्छ। खोपको साथै भाइरल इन्फ्लुएन्जा र निमोकोकल खोप पनि उपयोगी छ।