काठमाडौं– कानून व्यवसायीको सबैभन्दा धेरै सदस्य सङ्ख्या भएको उच्च अदालतको बार एशोसिएशन पाटनले आज ४० औँ स्थापना दिवस मनाएको छ।
दिवसका अवसरमा पाटक उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीले बारले अदालतलाई सक्रियरूपमा सहयोग गरिरहेको र आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा रहेको बताएका छन्। अदालत र बारबीचको समन्वय, नयाँ प्रवेशी कानून व्यवसायीलाई प्रशिक्षण दिने, रक्तदानजस्तो जनउत्तरदायी काम गर्नु बारले गरेका महत्वपूर्ण काम भएको उनको भनाइ थियो।
नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अरु बारले पनि सिक्नुपर्ने तरिकाले पाटन बारले काम गरिरहेको उल्लेख गर्दै देशभरिको नमूना बारका रूपमा काम गरेकोप्रति खुशी व्यक्त गरे। सो बारका अध्यक्ष रामचन्द्र सिम्खडाले नेपालमा सदस्य सङ्ख्याको हिसाबले सबैभन्दा बढी सदस्यता भएको बारले वार्षिकरूपमै कार्यक्रम बनाएर सोहीअनुरुप काम गर्दै आएको जानकारी दिएका छन्।
उनले नवप्रवेशी कानून व्यवसायीलाई तालीम दिने गरेको, बार र बेन्चबीच प्रभावकारी भूमिका खेलेको र स्वतन्त्र न्यायपालिका र कानूनी शासनका लागि बारले अग्रणी भूमिका खेलेको बताएका छन्। सो बारमा दुई हजार ७०० भन्दा बढी सदस्य छन्। आफ्नो स्थापना दिवसका अवसरमा बारले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो। रक्तदान कार्यक्रममा ५८ जना कानून व्यवसायीले रक्तदान गरेका थिए। (रासस)