धनगढी– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव मुकुन्द शर्मा नेतृत्वको टोलीले आज यहाँस्थित राष्ट्रिय समाचार समिति(रासस)को कार्यालय भवनको निरीक्षण अनुगमन गरेको छ।
रासस सञ्चालक बोर्डका सदस्यसमेत रहेका शर्मालाई निरीक्षणका क्रममा जीर्ण कार्यालय भवनको मर्मत सम्भार कार्यमा भएको प्रगति तथा देखिएका समस्याका बारेमा कार्यालय प्रमुख सिद्धराज भट्टले जानकारी गराएको थियो।
निरीक्षण टोलीमा मन्त्रालयका शाखा अधिकृत यज्ञराज भट्टसमेत सहभागी थीए। रासस धनगढीको जीर्ण कार्यालय भवन प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण कार्यालयको पहलमा रु चार लाख ७८ हजारको लागत खर्चमा हालै मर्मत सम्भार कार्य पूरा गरिएको हो।
यसअघि सोही कर्यालयले कञ्चनपुरको भीमदत्तनगरस्थित राष्ट्रिय समाचार समितिको जीर्ण कार्यालय भवनसमेत मर्मत गरेको थियो। (रासस)