लमजुङ– पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै बराहपोखरी जानका लागि खाँचेदेखि सार्दीसम्म सडक निर्माण सम्पन्न भएको छ। गत पुस १८ गतेबाट बबिस निर्माण कन्स्ट्रकसनले निर्माण गरेको खाँचे बराहपोखरी सडकको बेँसीशहर नगरपालिका १० खाँचेदेखि सार्दीसम्मको ६ मिटर चौडाइको चार किलोमिटर सडक निर्माण कार्य आज सम्पन्न भएको हो।
बेँसीशहरदेखि बराहपोखरीसम्म ३०३५ मिटर भए पनि बजेट अभावका कारण सो दूरीसम्म मात्रै सडक निर्माण गरिएको खाँचे बराहपोखरी सडक उपभोक्ता समितिले जनाएको छ। प्रदेश सरकार, नगरपालिका लगायतसँग सडक निर्माणका लागि आवश्यक बजेट माग गरी आगामी वर्ष्भित्र बराहपोखरीसम्मनै मोटरबाटो पु¥याउने योजना रहेको उपभोक्ता समितिको दाबी छ। घण्टौँ समय पैदल यात्रा गर्नुपर्ने भए पनि यातयात नियमित भएपछि भने करिब दुई घण्टामा पुगिने बताइएको छ।
उपभोक्ता समितिका सल्लाहकार सोमबहादुर तामाङले भने,’ सडक निर्माणले बराहपोखरी जानका लागि यात्रा छोटिएकाले थप सहज भएको र पर्यटन वर्ष २०२० मा बराहपोखरीमा पर्यटकको आगमन हुने अपेक्षा गरेका छौँ।’ सांसद देवप्रसाद गुरुङको पूर्वाधार कार्यक्रममार्फत रु ११ लाख ७७ हजार, बेँसीशहर नगरपालिकाले रु ११ लाख र वडा १० कार्यालयले रु चार लाख गरी रु २६ लाख ७७ हजारको लागतमा उक्त सडकको स्तरोन्ति तथा सडकको ट्र्याक निर्माण भएको उपभोक्ता समितिले जनाएको छ।
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको बराहपोखरीको प्रचार–प्रसार हुन नसक्दा ओझेलमा पर्दै आएको छ। जिल्लाको मस्र्याङ्दी गाउँपालिका र दोर्दी गाउँपालिकाको सिमानामा रहेको विष्णु भगवानको बासस्थान एवं थकाइ मेटेको कथासँग बराहपोखरी जोडिएको छ। बराहपोखरीमा वर्षको एक दुई पटक मात्र नभई वर्षको १० महिना पर्यटक जानसक्ने भए पनि यातायता सेवा, बराहपोखरीको प्रचारप्रसार तथा संरक्षण हुन नसक्दा ओझेलमा पर्दै आएको छ।
बराहपोखरीमा हरेक वर्ष वैशाख पूर्णिमा (बुद्ध पूर्णिमा) र भदौ पूर्णिमा (जनै पूर्णिमा) का दिन बराहपोखरीमा भक्तजनहरुको भीड लाग्छ। पोखरीमा नुहाउँदा वषौँदेखिको रोग निको हुने, नबोल्नेहरु बोल्ने, मनको कामना पूरा हुने जनविश्वास रहेको छ। उक्त स्थानबाट गणेश हिमाल, हिमाल चुली, अन्नपूर्ण हिमाल, माछापुच्छे लगायतका हिमशृङ्खलासमेत देखिन्छ। सो पोखरी समुन्द्री सतहदेखि करिब ३५ सय मिटर उचाइमा रहेको छ। साहसिक पदयात्रा, तीर्थयात्रा र प्राकृतिक दृश्यावलोकनका लागि यो स्थल उपयुक्त रहेको छ। (रासस)