काठमाडौं– विस २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पका कारण क्षति भएका सम्पदा आगामी दुई वर्षभित्र पुनःनिर्माण सम्पन्न हुने पुरातत्व विभागले जनाएको छ। विभागका निमित्त महानिर्देशक दामोदर गौतमका अनुसार भूकम्पबाट क्षति भएका ९२० वटा सम्पदामध्ये हालसम्म ४०० सम्पदाको पुनःनिर्माण सम्पन्न भएका छन्।
बाँकी ४२० सम्पदा आगामी दुई वर्ष्भित्र सम्पन्न गर्ने तयारी गरी पुनःनिर्माण गरिएको उनले बताएका छन्। उनका अनुसार चालू आर्थिक वर्ष २०७६७७ मा १५० सम्पदाको संरक्षण तथा पुनःनिर्माण गर्ने लक्ष्य रहेको छ। चालू आर्थिक वर्षमा ६० प्रतिशत पुनःनिरर्माण सम्पन्न गर्ने र बाँकी ४० प्रतिशत आगामी दुई वर्ष्भित्रमा पुनःनिर्माण सम्पन्न गरिनेछ।
नौ सय २० वटा सम्पदामध्ये पुरातत्व विभागले ७३७ वटा सम्पदा र स्थानीय निकायलगायत अन्य सङ्घ संस्थाबाट १८३ वटा सम्पदा पुनःनिर्माण हुनेछ। चालू आर्थिक वर्षमा स्वीकृत भएका ३८९ सम्पदामध्ये १५० सम्पदा यसै वर्षमा सम्पन्न हुनेछन्। तीन सय ८९ सम्पदामध्ये १५३ वटा सम्पदाको पुनःनिर्माण राष्ट्रिय पुनःर्निमाण प्राधिकरण, २९ सम्पदा भारतीय अनुदानमा, २०५ सम्पदा भारतीय एक्जिम बैंकको सहयोगमा र दुई सम्पदा जापान सरकारको सहयोगमा पुनःनिर्माण हुनेछ।
९ अर्ब १८ करोड खर्च
पुरातत्व विभागअन्तर्गत पुनःनिर्माण हुने ७३७ सम्पदा पुनःनिर्माणका लागि रु नौ अर्ब १८ करोड ८७ लाख ७१ हजार आवश्यक पर्नेछ। सो मध्ये हालसम्म रु दुई अर्ब ३९ करोड ८१ लाख ४६ हजार खर्च भएको निमित्त महानिर्देशक गौतमले जानकारी दिएका छन्। उनका अनुसार बाँकी सम्पदा पुनःनिर्माणका लागि आर्थिक वर्ष २०७७७८ मा रु एक अर्ब ८१ करोड दुई लाख ८० हजार र २०७८७९ मा रु एक अर्ब ८१ करोड दुई लाख ८० हजार गरी रु तीन अर्ब ६२ करोड पाँच लाख ६० हजार बजेट आवश्यक पर्नेछ।
भूकम्पबाट क्षति पुगेका सम्पदा पुनःनिर्माणमाका लागि पशुपति क्षेत्र विकास कोष, भारतीय अनुदान, एशियाली विकास बैंक (एडिबी), चीन सरकार, जापान सरकार, श्रीलङ्का सरकार, युनेस्को र केभीपिटीको सहयोग रहेको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक सहयोगमा पशुपति क्षेत्र विकास कोषले ६२ सम्पदामध्ये हालसम्म ३५ वटा सम्पदा पुनःनिर्माण सम्पन्न गरेको छ।
काठमाडौँ उपत्यकाभित्रका सात वटा विश्व सम्पदा क्षेत्रमा क्षति भएका १७० वटा सम्पदामध्येमा हालसम्म १०० सम्पदा पुनःनिर्माण सम्पन्न भएका छन्। त्यस्तै चालू आर्थिक वर्षमा ५४ वटा सम्पदा पुनःनिर्माण सम्पन्न हुनेछ भने १५ वटा सम्पदाको पुनःनिर्माण शुरु नै भएको छैन।
उपत्यकाकाभित्रका तीन जिल्ला (काठमाडौंँ, ललितपुर र भक्तपुर जिल्ला) मा क्षति भएका ५४० वटा सम्पदामध्ये हालसम्म १६९ वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ। त्यस्तै चालू आर्थिक वर्षमा २५३ वटा सम्पदा निर्माण हुनेछ भने १२३ वटा सम्पदाको पुनःनिर्माण नै शुरु भएको छैन। विभागका अनुसार देशभरिका ७७ जिल्लामा पुरातात्विक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको कूल सङ्ख्या पाँच हजार रहेको छ। तीमध्ये पुरातात्विक स्थलको सङ्ख्या ४७० वटा रहेका छन्। (रासस)