सिमकोट– काठमाडौँ केरुङ, हिल्सा हुँदै सल्ली खोलासम्म आइपुगेको चार हजार क्विन्टलमध्ये तीन सय क्विन्टल चामल सल्ली खोलामा अलपत्र परेको छ। नेपाल खाद्य संस्थान सिमकोटमा आर्थिक वर्ष २०७५७६ आइपुग्नुपर्ने चार हजार क्विन्टलमध्ये तीन हजार ७०० क्विन्टल पुगेको र बाँकी चामल सल्ली खोलामा नै रोकिएको हो।
भदौ महिनाबाट केरुङ हुँदै हिल्सा पुगेको चामल हिल्साबाट भदौ महिनाबाट टिपरबाट सिमकोट ओसार्न थालिएको थियो। सल्लीसम्म पुगेको चामल भदौदेखि मङ्सिर महिनासम्म सरदमुकाम सिमकोट ओसारिए पनि तीन हजार ७०० क्विन्टल चामल मात्रै पुगेको सिमकोट खाद्य संस्थान शाखा हुम्लाका प्रमुख रामबहादुर विष्टले बताएका छन्।
प्रमुख विष्टले भने, ‘मङ्सिर महिनाको अन्तिम सातादेखि जिल्लामा निरन्तर हिमपात भएको छ सिमकोट पुग्नुपर्ने बाँकी चामल हिमपातले कुहियो होला।’ हुम्लामा पुस र माघमा हिमपात भएको छ। सल्ली खोला उच्च हिमाली गाउँमा पर्छ। ‘सरदमुकाम सिमकोट भन्दा बढी हिमपात भएकोे त्यस क्षेत्रमा प्लाष्टिकको भरमा छोपेर राखिएको चामल कसो नकुहिएला र ?’ उनले भने।
हवाई मार्गबाट ४५ मिनेटमा सिमकोट पुग्ने चामल काठमाडाैँ केरुङबाट स्थलमार्गबाट आउन ६ दिन लाग्छ। हवाई मार्ग भन्दा स्थलमार्गबाट भाडादर कम पर्ने भए तापनि समयमा आउनुपर्ने चामल एक वर्षसम्म नपुग्दा सिमकोट गाउँपालिका र खार्पुनाथा गाउँपालिकाका स्थानीयवासीलाई समस्या परेको छ।
ठेकेदारको लापारवाही र ढिलासुस्तीले स्थलमार्गबाट सल्लीमा पुगेको चामल सिमकोट नपुगेर बिचबाटोमै अलपत्र परेको छ। हवाईमार्ग र स्थलमार्गबाट हुम्लामा चामल पु¥याउने जिम्मा लिएका चङ्खेली देउतीबजै जेभिका ठेकेदार धु्रव शाहीले भने त्यो विषयमा आफूलाई कुनै जानकारी नभएको बताएका छन्। उनले कामदारलाई सोधेर जानकारी दिने बताएका छन्।