एजेन्सी– स्पेनिस ला लिगा फुटबलमा क्याटलान क्लब बार्सिलोनाले रियल बेटिसमाथि कठिन जित निकालेको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले बेटिसलाई ३–२ गोलले पराजित गरेको हो।
बार्सिलोनालाई जिताउन फ्रान्की डि जोङ, सर्जियो बुस्क्वेट्स र क्लेमेन्ट लेङ्लेटले गोल गरेका थिए भने बेटिसको लागि सर्जियो कानालेस र नविल फेकिरले गोल गरेका थिए। घरेलु मैदानमा भएको खेलको छैटौं मिनेटमा बेटिसले शुरुवाती अग्रता बनाएको थियो। उसको लागि सर्जियोले पेनाल्टीमार्फत गोल गरेका थिए। खेलमा पछि परेको बार्सिलोना नवौं मिनेटमा खेलमा फर्कन सफल भयो। बार्सिलोनाको लागि कप्तान लियोनल मेस्सीको पासमा फ्रान्की डि जोङले गोल गरेका थिए।
प्रतिस्पर्धात्मक खेलको २६ औं मिनेटमा बेटिसले पुनः अग्रता बनाउन सफल भयो। बेटिसको लागि नविल फेकिरले गोल गरेका थिए। खेलको पहिलो हाफको इन्ज्युरी समयमा बार्सिलोनाका सर्जियो बुस्स्क्वेट्सले गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याए। पहिलो हाफ २–२ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा बार्सिलोनाले थप एक गोल गर्न सफल भयो। खेलको ७२ औं मिनेटमा बार्सिलोनाले गोल गर्दै ३–२ गोलको अग्रता बनाउन सफल भयो। उसको लागि कप्तान मेस्सीको पासमा लेङ्लेटले गोल गरेका थिए।
त्यसपछि खेलमा अन्य गोल नहुँदा बार्सिलोना विजयी भयो। जितसँगै बार्सिलोनाले बार्सिलोनाले २३ खेलबाट ४९ अंक जोडेको छ। समान खेलबाट ५२ अंक जोडेको रियल मड्रिड शीर्षस्थानमा छ।रियल बेटिस २८ अंक जोडेर १३ औं स्थानमा छ।