एजेन्सी– पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सहज जित निकाल्दै शीर्षस्थानमा १२ अंकको स्पष्ट अग्रता लिन सफल भएको छ। पीएसजीले लियोनमाथि ४–२ को सहज जित निकालेको हो।
जितसँगै पीएसजीले शीर्षस्थानमा १२ अंकको स्पष्ट अग्रता बनाएको छ। पीएसजीको २४ खेलबाट ६१ अंक छ। उति नै खेलबाट दोस्रो स्थानको मार्सेलीको ४९ अंक छ। पराजित लियोन ३३ अंक जोडेर नवौं स्थानमा छ।
घरेलु मैदानमा आइतबार राति भएको खेलमा पीएसजीको सहज जितमा एन्जल डि मारिया, केलियन एमबाप्पे र एडिन्सन काभानीले गोल गरे। एक गोल उपहार पाएको थियो। लियोनका मार्टिन टेरियर र मौउसा डेम्बेलेले गोल गरे।
पीएसजीले खेलको २२औं मिनेटमा डि मारियाको गोलबाट सुरुवाती अग्रता बनाएको थियो। ३८औं मिनेटमा एमबाप्पेले गोल गरेपछि पीएसजीले पहिलो हाफमा २–० को अग्रता लिन सफल भएको थियो।
दोस्रो हाफको शुरुमै फर्नान्डो मार्कलले आत्मघाती गोल गरेपछि पीएसजीले खेलमा ३–० को आरामदायी अग्रता बनायो। त्यसपछि लियोनले लगातार दुई गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए। ५२औं मिनेटमा मार्टिन टेरियरले तथा ५९औं मिनेटमा मौउसा डेम्बेलेले गोल गरेका थिए। ७९औं मिनेटमा डि मारियाको पासमा एडिन्सन काभानीले गोल गर्दै पीएसजीलाई ४–२ को सहज जित दिलाए।