एजेन्सी– मिलान डर्वीमा जित निकाल्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ। इन्टर मिलानले दुई गोलले पछि परेको स्थिति उल्ट्याएर ४–२ को पूनरागमन जित निकाल्दै युभेन्टसलाई पछि पार्दै लिगको शीर्षस्थानमा पूनरागमन गरेको हो।
मिलानोमा आइतबार राति भएको खेलमा इन्टरको जितमा मार्सेलो ब्रोजोभिक, म्याटियस भिन्सिनो, स्टेफन डि भिरिज र रोमेलु लुकाकुले गोल गरे। एसी मिलानका एन्टी रेविक र ज्लाटन इभ्राहिमोभिचले गोल गरे।
खेलको ४०औं मिनेटमा एन्टी रेविकले ज्लाटन इभ्राहिमोभिचको पासमा गोल गर्दै एसी मिलानलाई अग्रता दिलाए। पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा ज्लाटन इभ्राहिमोभिचले फ्रान्क केसिइको पासमा गोल गरेपछि एसी मिलानले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो।
तर, त्यो अग्रतालाई एसी मिलानले दोस्रो हाफमा जोगाउन सकेन। ५१औं मिनेटमा मार्सेलो ब्रोजोभिकले गोल गर्दै इन्टर मिलानलाई खेलमा फर्काउने संकेत दिए। ५४औं मिनेटमा म्याटियस भिन्सिनोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए।७०औं मिनेटमा स्टेफनले गोल गर्दै घरेलु टोली इन्टर मिलानलाई खेलमा पहिलोपटक ३–२ को अग्रता दिलाए। इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा भिक्टर मोसेसको पासमा रोमेलु लुकाकुले गोल गर्दै इन्टर मिलानलाई ४–२ को पूनरागमन जित दिलाए।
जितसँगै इन्टर मिलानको २३ खेलबाट ५४ अंक पुगेको छ। समान खेलबाटै ५४ अंक रहेको युभेन्टस गोल अन्तरमा दोस्रो स्थानमा झरेको छ। एसी मिलान ३२ अंक जोडेर १०औं स्थानमा छ।