काठमाडौं – महिलाहरूका लागि गर्भावस्था एउटा विशेष चरण हो। धेरैजसो महिला शारीरिक र मानसिक रूपमा पूर्ण तयार नहुँदा यस्तो अवस्थामा विभिन्न समस्या आउन सक्छन्। त्यस्ता समस्यालाई न्यूनीकरण गर्नका लागि गर्भवती महिलाले योग गर्दा धेरै राम्रो हुन्छ। गर्भावस्थामा योग गर्नाले मन, मस्तिष्क र शरीरलाई शान्त र फुर्तिलो बनाउने गर्दछ।
गर्भवती अवस्थामा देखिने समस्या समाधानका साथै बच्चा जन्माउँदा आउन सक्ने अप्ठ्याराहरुलाई कम गरी प्राकृतिक रुपमा बच्चा जन्माउन सहयोग पुग्छ। त्यस्तै, गर्भवती महिलाले तल्लो पेट र तिघ्राको भित्री भागलाई दह्रो बनाउन योग र व्यायाम गर्नुपर्छ।
१. लामो श्वास लिँदै बायाँ हातलाई सीधा तिघ्रामा लपेटेर बिस्तारै बायाँतर्फ ढल्किई केहीबेर रोकिनुहोस्। त्यसपछि श्वास फ्याँक्दै बिस्तारै सुरुको अवस्थामा आउनुहोस्। यो क्रमलाई ६ देखि १० पटकसम्म जारी राख्नुहोस्।
२. दाहिने घुँडालाई खुम्च्याएर श्वास लिँदै दुवै हात जोडेर टाउकोमाथि लैजानुहोस्। श्वास फ्याँक्दै सुरुको अवस्थामा आउनुहोस्। दुवै खुट्टालाई एक हातको फरक पारेर उभिई हातलाई दुवै घुँडामा राखेर श्वास फ्याँक्दै आधा टुक्रुक्क बस्नुहोस्।
३. बसेर दुवै खुट्टा खुम्च्याई दुवै पाइतालालाई एक–आपसमा जोड्नुहोस्। दुवै हातले जोडिएका खुट्टाका औँलालाई समात्नुहोस् र घुँडालाई तल–माथि गर्नुहोस्।
४. कुहिनाले दुवै घुँडालाई धकेल्ने र भित्र ल्याउने गर्नुहोस्।
५. खुट्टा फट्याएर बिस्तारै श्वास फ्याँक्दै अगाडि झुक्नुहोस् र दुवै हातलाई सीधा भुइँतिर लपेटेर टाउकोलाई पनि भुइँमा दबाउनुहोस्।
योग तथा व्यायाम हप्ताको ३ देखि ५ दिनसम्म ५ देखि १० पटकसम्म दोहोर्याउनुपर्छ। अत्यधिक थाक्ने, कडाखालका व्यायाम नगरी हल्का व्यायाम तथा योगाभ्यास केवल उभिएर मात्र गर्नाले गर्भवती महिलाले सजिलैसँग बच्चा जन्माउन सक्छन्।