काठमाडौँ, २७ माघ – नायक सलिनमान बानियाँले आफ्नोे चलचित्र ‘यात्रा’ले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताएका छन्। उनको यो दोस्रो चलचित्र हो।
चलचित्रको टिजर सार्वजनिक भएसँगै यसले निकै चर्चा बटुेको छ। उनले भने, ‘मैले यस चलचित्रमा भनेजस्तै भूमिका पाएको छु। चलचित्रले पर्यटन प्रवर्द्धनमा सहयोग र दर्शकको आँखालाई पनि शितलता प्रदान गर्छ।’
चलचित्रको शीर्ष गीतको छायाङ्कन नेपालको पहाडी तथा हिमाली भेगमा गरिएको छ। यस चलचित्रका गीतको भिडियो सोमबार सार्वजनिक हुँदैछ। प्रतीक पौडेलको शब्द र सङ्गीत रहेको गीतमा धर्मेन्द्र सेवान, मेलिना राई, प्रेक्षा बज्राचार्य र उपकार पाण्डेले आवाज दिएका छन्।
चलचित्रलाई सम्राट शाक्यले निर्देशन गरेका हुन्। ‘चलचित्रको कथावस्तु यात्रामा केन्द्रित रहे पनि यसले पूर्ण रूपमा मनोरञ्जन दिन्छ,’ निर्देशक शाक्य भन्छन्, ‘चलचित्रमा चाहिने सम्पूर्ण तत्त्व यसमा छ।’
कोटकी कालिका देवी फिल्मस् प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरिओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको यस चलचित्रमा केशव भट्टराई र चिजकुमार श्रेष्ठ प्रस्तुतकर्ताका रूपमा छन्। त्यस्तै चलचित्रमा विक्रम पराजुली, मुक्ति तिम्सिना र रामशरण घिमिरे सहनिर्माता रहेका छन्।
यस चलचित्रमा सुशील पोखरेल निर्माता र सर्जुमान लिगल कार्यकारी निर्माता रहेका छन्। कलाकारहरू सलिनका साथै सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धीरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल र नवनायिका मल्लिका महतको अभिनय छ।