जाजारकोट – राष्ट्रिय वन ५८ र सामुदायिक वन ३६ प्रतिशत रहेको जाजरकोटमा बिनापुर्जी रुख काट्ने क्रम जारी छ। जाजरकोटमा २ सय ८४ वटा सामुदायिक वन समूह छन्। सोभन्दा बाँकी सबै राष्ट्रिय वन रहेको छ।
गाउँ, गाउँका सामुदायिक वनका समूहसँग मिलेर आधुनिक मेशिन प्रयोगबाट रुख काटेर बिक्री गर्ने क्रम बढेको छ। सामुदायिक वन समूहको भेला तथा बैठकबाट अनुमति लिई सो निर्णय डिभिजन वन कार्यालयमा पेश गरी डिभिजन वन र समूहको निर्णयबाट संयुक्त टाँचा लगाएर उपयुक्त मानिएको रुख काट्न पाउने नियम भएपछि यहाँ रुख काट्ने कार्य चलिरहेको छ।
अधिकांश स्थानीयवासी सामुदायिक वन समूहसँग पुर्जी लिएर रुख काट्दै गरेको पाइएको छ। आइतबार मात्र कुशे गाउँपालिकाबाट डिभिजन वन कार्यालयले १२ काठ तस्करलाई पक्राउ गरी सदरमुकाम ल्याएको छ। स्थानीय तहको व्यवस्थाका कारण झन सामुदायिक वन समस्यमा परेको छ।
अनुमतिबिना जथाभाबी रुख काट्नेलाई कुनै पनि हालतमा नछाडिने डिभिजन वन जाजरकोटका प्रमुख महेश कुमाईले जानकारी दिएका छन्। वन कार्यालय मातहातका कर्मचारी सदरमुकाम बस्दै आएका छन्।
गाउँमा वन्यजन्तु चोरी निकासी, काठ फडानी धेरै भए पनि कर्मचारी स्थानीय तहबाट सदरमुकाम आई व्यक्तिगत काममा व्यस्त हुने गरेको पाइएको छ। गाउँगाउँमा सामुदायिक वन तथा राष्ट्रिय वनमा चोरी, निकासी भए पनि कर्मचारी भने फिल्डमा नखटिदा समस्या बढेको गुनासो छ।
दरबन्दीअनुसारका कर्मचारी नहुँदा काम गर्न समस्यामा परेको र स्थलगत खटिए पनि काठ तस्करसँगै मिल्ने हो कि भन्ने आशङ्का उब्जेको स्थानीयवासीको आरोप छ।रासस