काठमाडौं – स्लिम बन्ने अधिकांश युवतीको चाहना हुन्छ । फेसन र जीवनशैलीमा लगातार आइरहेको परिवर्तनसँगै स्लिम बन्न चाहनेको संख्या पनि बढिरहेको छ । काम गर्न छिटोछरितो हुने, लुगा लगाउँदा राम्रो देखिनेलगायत कारणले भर्खरका युवती मात्रै नभएर उमेर पुगिसकेका महिला पनि शरीर स्लिम पार्ने प्रयासमा लागिरहेका हुन्छन् ।
स्लिम बन्ने इच्छा कसलाई पो हुँदैन र, तर इच्छा हुदाँमात्रै पनि कहाँ स्लिम भइन्छ र ? किनकी हामीले खाने खानामा अत्याधिक मात्रामा क्यालोरी हुन्छ। हामी यदि स्लिम बन्ने हो भने, कम खाने र शारीरिक काम बढी गर्ने गर्नुपर्छ। तर स्लिम बन्ने बहानामा यस्ता काम गर्नु हुँदैन, स्लिम र आकर्षक हुन खाना खान छोड्नुपर्छ भन्ने होइन। तर केही कुरामा ध्यान दिए शरीरलाई फिट राख्न सकिन्छ।
थोरै–थोरै खाइरहने– तपाईं छिन–छिनमा केही खाइरहनुहुन्छ भने, दिमागमा भोक लागेको कुरा आउँदैन र क्यालोरीयुक्त खानेकुराको चाहना हुँदैन।
बिस्तारै–बिस्तारै खाने– स्वाद लिएर बिस्तारै–बिस्तारै खाना खाईयोे भने, पेट भरिएको महसुस हुन्छ, र छिटो–छिटो खाने गरियो भने यस्तो अनुभव गर्न सकिन्न।
पुरा निद्रा सुत्ने– केही शोधले निद्राको कमी तौल बढ्नुको कारण बताएका छन्। अनिद्रामा तपाईं तनाव महसुस गर्नुहुन्छ। तनावसँग सम्बन्धित हार्माेनले शरीरमा अत्यधिक मात्रामा पानी बढाइदिने गर्छ। यसले तपाईंको तौल बढ्न सक्छ।
अल्कोहलबाट टाढै बस्ने– फिट रहन चाहनुहुन्छ भने, मदिरापानबाट टाढा रहनुहोला। रक्सी सेवनले पनि मोटोपन बढाउन सक्छ।
बाहिर नखाने– बाहिर रेस्टुरेन्टमा गएर खानुभन्दा घरको खाना खानु स्वास्थ्यका लागि राम्रो हुन्छ। घरको खाना ताजा र स्वास्थ्यवद्र्धक हुन्छ। बाहिरको खानामा भने, क्यालोरीको मात्रा बढी हुने गर्छ।
शाकाहारी खाना खाने– मांसाहारी भोजनमा पोषक तत्व बढी हुन्छन्, जसले मोटोपनलाई सघाउँछ। हरियो सागसब्जी, गेडागुडी आदिले शरीरलाई स्वस्थ र फिट राख्न मद्दत गर्छन्।
सही मात्रामा खाना खाने– खाना नै नखाई डाइटिङ गर्नुभन्दा खाइरहेको खानाको मात्रा कम गर्नु राम्रो हुन्छ। सानो प्लेट या थालमा खाना खानु राम्रो हुन्छ।
स–साना काम गर्ने– शरीरलाई फिट र फुर्तिलो राख्न स–साना घरायसी काम गर्नुपर्छ। यस्ता कामले तपाईंको शरीरको ‘एक्स्ट्रा क्यालोरी’ कम गर्छन्। सरसफाइ, फूलबारीमा गोडमेल आदि राम्रा शारीरिक अभ्यास हुन्।