एजेन्सी– चीनमा कोरोना भाइरसका कारण हजार बढीको ज्यान गएपछि चीनले आफ्ना वरिष्ठ अधिकारीलाई कारवाही गरेको छ।आफ्नो जागिर गुमाउनेमा हुबेईको स्वास्थ्य आयोगका पार्टी सचिवलगायत आयोगका प्रमुखसमेत रहेका छन्।
उनीहरु अहिलेसम्म पद घटुवा गरिएको सबैभन्दा वरिष्ठ अधिकारी हुन्। स्थानीय रेडक्रसका डेप्युटी जनरललाई पनि कर्तव्यबाट पछि हट्दै चन्दा संकलनमा सक्रिय रहेको भन्दै हटाइएको छ।
हुबेई प्रान्तमा सोमबार मात्रै १०३ जनाको मृत्यु भएको छ। मृतकको संख्या अहिलेसम्म १ हजार १६ पुगेको छ। यद्यपि, देशव्यापी रुपमा संक्रमितको संख्यामा भने २० प्रतिशतको कमी आएको छ। आइतबार संक्रमितको संख्या ३ हजार ६२ थियो जुन सोमबार घटेर २ हजार ४ सय ७४ पुगेको छ।
हुबेईको स्वास्थ्य आयोग अनुसार सोमबार उक्त प्रान्तमा २ हजार ९७ नयाँ संक्रमित भेटिएको छ। अघिल्लो दिन संक्रमितको संख्या २ हजार ६ सय १८ थियो। सरकारी मिडियाका अनुसार कोरोनाको संक्रमण देखिएयता हुबेईमा हज्जारौंको बर्खास्ती, थुप्रैमाथि अनुसन्धान र धेरैलाई चेतावनी दिइएको छ।
तर केही निश्चित दायित्वबाट हटाउनु भनेको उक्त व्यक्तिलाई पूर्ण रुपमा बर्खास्ती गरिनु नभई यसलाई पद घटुवाको रुपमा पनि हेर्नु पर्ने बताइएको छ। जसलाई आफ्नो पदबाट हटाइएको छ, ती अधिकारीलाई सत्ताधारी कम्युनिष्ट पार्टीले पनि सजाय दिने बताइएको छ।
उदाहरणका लागि, रेड क्रसका उप–प्रमुख झाङ्ग क्विनलाई ‘एक गम्भीर अन्तर पार्टी चेतावनी दिनुका साथै एक प्रशासनिक दोषी’ को संज्ञा दिइएको सरकारी मिडियाले बताएको छ।
यस महिनाको सुरुमा बुहान तथ्याङ्क ब्यूरोका उप–प्रमुखलाई मास्क वितरणमा उचित नियम अवलम्बन नगरेको भन्दै गम्भीर अन्तर पार्टी चेतावनी दिइएको थियो भने उनलाई प्रशासनिक दोषीसमेत बताइएको थियो। हालै, कोरोना भाइरसमा उचित ध्यान नदिएको भन्दै चिनियाँ अधिकारीको व्यापक आलोचना हुँदै आएको छ ।