एजेन्सी, २७ माघ– बलिउड सुपरस्टार ऋतिक रोशनको चलचित्र ‘सुपर ३०’ लामो समयदेखि चर्चामा छ। यो चलचित्र गणितज्ञ आनन्द कुमारको बायोपिक हो।
चलचित्रको रिलिज डेट फाइनल भएको छ। पहिला चलचित्र जनवरी २५ मा आउने तयारीमा रहे पनि अब यो चलचित्र २६ जुलाई (साउन १०) मा प्रदर्शन हुने तय भएको छ। निर्माण टिमले अझै सुटिङ गर्ने फैसला लिएपछि चलचित्र पूर्वघोषित मितिमा प्रदर्शनमा आउन सकेको थिएन।
चलचित्रमा आनन्द कुमारको वास्तविक जीवनमा हालै भएको घटना जोडिएको छ, जसको बारेमा पहिला चलचित्रमा थिएन। चलचित्रको पोस्ट-प्रोडक्सनबाट निर्देशक विकास बहल अलग भइसकेका छन्। चलचित्रको बारेमा जानकारी दिँदै शिवाशीष सरकारले भने, ‘हामीले ‘सुपर ३०’ का लागि बाहिरी निर्देशक नियुक्त गरेका छैनौं।
स्टूडियोले नै चलचित्रको क्रियटिभ पार्टनर्सको साथमा चलचित्रको पोस्ट-प्रोडक्सन पूरा गरिरहेको छ।’ यो चलचित्रमा ऋतिकका साथै मृणाल ठाकुर, अमित साध र नन्दिशा सन्धुको अभिनय रहेको छ।
गणितज्ञ आनन्दले गरिब बच्चालाई पढाए। उनले पटनामा आईआईटी एन्ट्रेन्स एग्जाममा निःशुल्क कोचिङ दिए। बायोपिक चलचित्रमा आनन्दको जीवन संघर्षदेखि छात्रहरूको परिवेशलाई समेत प्रस्तुत गरिएको छ ।