एजेन्सी– सधै चर्चामा रहेको ‘इन्डियन आइडल’ यसपटक आदित्य नारायण र नेहा कक्कडको सम्बन्धका कारण झन चर्चामा रहेको छ। भ्यालेन्टाइन्स डेमा उनीहरु वैवाहीक सम्बन्धमा जोडीने खबर सार्वजनिक भएको थियो।
इन्डियन आइडलमाथि टिआरपी बटुल्नका लागि यस्तो गरिएको आरोप लागेको थियो। यो कुरा वास्तविक हो जस्तो बुझिएको छ किनभने आदित्यका पिता उदित नारायणले यसलाई अफवाहको संज्ञा दिएका छन्।
एक भारतीय संचारमाध्यमसँगको कुराकानीमा उदित नारायणले भनेका छन्, ‘आदित्य हाम्रो एक्लो छोरा हो। हामी उनको विवाहको प्रतिक्षा गरिरहेका छौं। यदि विवाहको अफवाह साँचो हुँदो हो त हामी संसारकै भाग्यमानी आमा–बुवा हुने थियौं। तर आदित्यले हामीमाझ यसबारे केही कुरा साझा गरेका छैनन्।’
उदितले थपे, ‘मलाई लाग्छ नेहा कक्कड र आदित्यको विवाहको अफवाह टिआरपीका लागि उडाइएको हो। यहाँ नेहा निर्णायक छिन् भने मेरो छोरा उद्घोषक हुन्।’ आदित्य नारायणले नेहा कक्कडसँगको विवाहका लागि च्यानलमा सहमती जताएका थिए। आदित्यले फेब्रुअरी १४ मा कार्यक्रममा नै विवाह गर्ने बताएका थिए। च्यानलले यी दुईको विवाहको कार्डसमेत छापेको थियो।
आदित्यका पिता उदित नारायण कार्यक्रममा आउँदा नेहाको तारिफ गर्दै उनलाई घरको बुहारी बनाउने इच्छा व्यक्त गरेपछि यस्तो अफवाह थप फैलिएको हो।रिपोर्टको अनुुसार यी दुईले चाँडै नै ब्याचलर पार्टी पनि गर्न सक्छन्। उक्त पार्टी इन्डियन आइडल ११ को सेटमा हुने र अबको विकेन्ड एपिसोडमा देखाइने खबरमा उल्लेख छ।