एजेन्सी– दिल्लीमा फेरि एक पटक आम आदमी पार्टी(आप)ले प्रचण्ड बहुमतका साथ सरकार बनाउने निश्चित भएको छ। दिल्ली विधानसभा चुनावको पूरा परिणाम आइसकेको छैन तर प्रारम्भिक मतपरिणामअनुसार आम आदमी पार्टीले ७० सिटमध्ये ५८ सिटमा अग्रता बनाएको छ। दिल्लीमा सरकार बनाउन ३५ सिट आवश्यक पर्छ।
भारतीय जनता पार्टी(भाजपा) १२ सिटमा अगाडि रहेको छ। कांग्रेस भने एक सिटमा पनि अगाडि छैन। ७० सिट रहेको दिल्ली विधानसभाको चुनाव फेब्रुअरी ८ मा भएको थियो।
मुख्यमन्त्री केजरीवाल नई दिल्ली विधानसभा सिटबाट करिब ८ हजार मतले अगाडि रहँदा उपमुख्यमन्त्री मनिष सिसोदिया भने पटपटगञ्जबाट एक हजार मतले पछाडि रहेका छन्। यहाँ चौथो चरणको मात्रै मतगणना भएको छ। यहाँ अझै १४ चरणको मतगणना बाँकी रहेको छ।
२०१५ को चुनावमा ३ सिटमा समेटिएको भाजपाले यस पटक केही सुधार गरे पनि उसले दाबी गरेअनुसारको मत भने प्राप्त गर्न सकेन। २२ वर्षपछि दिल्लीको सत्तामा फर्कने सपना देखेको भाजपा यस पटक पनि पूरा नहुने पक्का भएको छ। अरविन्द केजरीवाल नेतृत्वको आपलाई हराउन भाजपाले प्रधानमन्त्री नरेन्द्र मोदी गृहमन्त्री अमित शाह कैयौं राज्यका मुख्यमन्त्री तथा २०० भन्दा बढी सांसदलाई चुनावी प्रचारप्रसारमा उतारेको थियो।
२०१५ मा भएको दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टीले ७०मध्ये ६७ सिटमा ऐतिहासिक जित हात पारेको थियो। भाजपाले तीन सिटमा जित हात पार्दा कांग्रेस भने खाली हात भएको थियो।
नई दिल्ली क्षेत्रबाट उम्मेदवार बनेका मुख्यमन्त्री अरविन्द केजरीवालले २०१५ मा भाजपाकी उम्मेदवार नुपुर शर्मालाई झन्डै ३१ हजार मतले हराएका थिए। सन् २०१३ मा भएको विधानसभा चुनावमा केजरीवालले दिल्लीकी तीन पटककी मुख्यमन्त्री शीला दीक्षितलाई २५ हजार मतले हराएका थिए। सन् २०१३ मा आम आदमी पार्टीले २८, भाजपाले ३२ र कांग्रेसले ८ सिट जितेको थियो। कांग्रेसको समर्थनमा केजरीवालले दिल्लीमा ४९ दिन सरकारको नेतृत्व गरेका थिए।
पछिल्ला ५ वर्षमा मुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्वको सरकारले दिल्लीमा खानेपानी, बिजुली, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गरेको छ। त्यसको फाइदा यो चुनावमा आपलाई पुगेको राजनीतिक विश्लेषक बताउँछन्।