काठमाडौं– बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा आफ्ना नेतालाई प्रतिवादी बनाइएको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गर्दै आएको संसद बैठक मंगलबार भने अवरुद्ध नगर्ने भएको छ।
मंगलबार बिहान सिंहरदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले ललिता निवास प्रकरणलाई लिएर अब संसद बैठक अवरुद्ध नगर्ने निर्णय गरेको हो।
बालुवाटारको ललिता निवास क्याम्पअन्तर्गतको सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गरेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता विजय गच्छदारसहित १ सय ७५ जनालाई प्रतिवादी बनाएर बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
जसमध्येका १ सय १० जनालाई भ्रष्टाचार गरेको अभियोगमा बिगो तथा सजाय मागदाबी गर्दै प्रतिवादी बनाइएको थियो भने ६५ जनालाई जग्गा तथा सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको थियो। अख्तियारले गच्छदारविरुद्ध ९ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरेको छ।
बुधबार मुद्दा दर्ता भएयता कांग्रेसले ३ वटा प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ। गत बिहीबार, शुक्रबार र आइतबार बसेको प्रतिनिधिसभा बैठक कांग्रेसको अवरोधका कारण स्थगित गरिएको थियो। आइतबारको बैठकमा कांग्रेसले अवरोध सिर्जना गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले आज (मंगलबार) दिउँसो १ बजेका लागि बैठक बोलाएका थिए।
आजको बैठकमा सन्देश टेबुल, प्रतिवेदन पेश, व्यवस्थापन कार्य र शोक प्रस्ताव पेश गर्नेसम्बन्धी कार्यसूची छन्। आजको बैठकको पहिलो कार्यसूचीअन्तर्गत ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने छ।