एजेन्सी– बंगालको खाडीमा डुङ्गा दुर्घटना हुँदा कम्तिमा पनि १५ जना रोहिंग्या मुसलमानको ज्यान गएको छ ।
मंगलबार बिहान बंगालको खाडीमा १३० जना रोहिंग्या चढेको डुंङ्गा पल्टिएको हो। उक्त दुर्घटनामा कम्तिमा पनि १५ जना रोहिंग्या मुसलमानको ज्यान गएको अन्तर्रा्ष्ट्रिय समाचार माध्यमले जनाएका छन्।
ज्यान गुमाउनेमध्ये १५ जना महिला र बालबालिका समेत रहेको समाचारमा उल्लेख छ। डुङ्गामा सवार झण्डै ७० जनालाई जिवितै उद्वार गरिएको समाचार माध्यमले जनाएका छन्।
रोहिंग्या शरणार्थी चढेको उक्त डुङ्गा बंगलादेशबाट मलेसियातर्फ जाने क्रममा पल्टिएको बंगलादेशी अधिकारीहरूले बताएका छन्। डुङ्गामा बंगलादेशको कोक्स बजारस्थित शरणार्थी क्याम्पबाट भागेका १३० रोहिंग्या सवार थिए।
दुर्घटनाग्रस्त डुङ्गामा ५० जना सवार गर्न सक्ने क्षमता भएको बताइएको छ। क्षमताभन्दा बढी यात्रु सवार रहेकाले दुर्घटना भएको हुन सक्ने अधिकारीहरूले बताएका छन्।
सन् २०१७ मा म्यानम्यारको सेनाले आदिवासी रोहिंग्यामाथि दमन गरेपछि ७ लाखभन्दा बढी मानिस म्यानम्यारबाट भागेर बंगलादेश आएका थिए।