काठमाडौं – आस्टा अटोमोबाइलले नेपाली बजारमा नयाँ इलेक्ट्रीक मोटरसाइकल एसेम्बल गर्ने तयारी गरेको छ। कम्पनीले यसको एसेम्बल प्लान्ट काठमाडौंको किर्तिपुरमा लगाउने तयारी अगाडि बढाएको हो।
आस्टा अटोमोबाइल स्रोतका अनुसार अबको तीन महिनाभित्र ‘गो–क्यो’ नामक ब्राण्डको मोटरसाइकल एसेम्बल सुरु हुने छ। गो–क्यो ब्रान्डको इलेक्ट्रीक बाइकको मोडल नाम भने ‘रि’ राखिने कम्पनीले जनाएको छ।
यसमा प्रयोग गरिने फ्रेम चीनबाट र मोटर कन्ट्रोलर जर्मनीबाट ल्याउने तयारी भइरहेको कम्पनीले जनकारी दिएको छ। किलेस स्टार्ट, बेटर ग्रिप, बेटर क्लाइम्बिङ क्षमताका साथै राम्रो पावर र राम्रो सक एब्जब्र्सन इफेक्ट आदि विभिन्न विशेषताका साथ आउने यो मोटरसाइकल बाइकमा ५ किलोवाटको मोटर प्रयोग गरिने छ।
यसमा कम्पनीले सिंगल र डबल दुबै ब्याट्री अप्सनमा उपलब्ध गराउन सक्ने छ। सिंगल व्याट्री भएको मोटरसाइकल एक पटकको फूलचार्जमा १०० किलोमिटर चलाउन सकिने छ भने डबल व्याट्रीयुक्त मोटरसाइकल एक पटकका फुलचार्जमा २०० किलोमिटरसम्म चलाउन सकिने छ।
घरायसी प्रयोगको बिजुलीले यसलाई ४ घण्टामा सिंगल ब्याट्री र ८ घण्टामा डबल ब्याट्री चार्ज गर्न सकिनेछ। यी बाइक शहर र अफरोड दुवैमा चलाउन सकिने समेत कम्पनीले जनाएको छ।