काठमाडौं– झलनाथ खनालको संयोजकत्वमा गठित एमसीसीसम्बन्धी अध्ययन कार्यदलले १० दिनको समयसीमा (भोलि) बुधबार सकिँदैछ। मंगलबार सिंहदरबारमा बसेको तीन सदस्यीय कार्यदलको बैठकले प्रतिवदेन तयार पार्न नसक्ने निश्कर्ष निकाल्दै म्याद थपका लागि नेकपा नेतृत्वसँग आग्रह गर्ने भएको छ।
गत माघ १९ गते नेकपा केन्द्रीय कमिटीको बैठकले झलनाथ खनाल, भीम रावल र प्रदीप ज्ञवाली सम्मिलित तीन सदस्यीय कार्यदल बनाएको थियो। कार्यदल गठन भएको भोलिपल्टदेखि नै अध्ययन सामाग्रीहरु जुटाएर काम गर्दा पनि प्रतिवेदन लेखनमा समय नपुगेकाले म्याद थपका लागि पार्टीसँग आग्रह गर्ने निर्णय गरिएको स्रोतले जनाएको छ।
मंगलबार सिंहदरबारको बैठकपछि कार्यदलका संयोजक झलनाथ खनालले भने, ‘हामीले अध्ययन गरिराखेका छौं, तर लेखन कार्य नभ्याइन सक्छ, लेखन कार्य सिद्धिएन भने म्याद थपिन्छ।’