काठमाडौँ, २७ माघ – डाँडाभरि सेताम्मै हिउँ। हिउँले ढाकिएका रुखबिरुवा, कुर्सी, टेबल अनि छानाहरु। थानकोटबाट उकालो लागेर अलि अगाडि बढेपछि बाटैदेखि लाम लागेर बसेका सवारी साधन। चन्द्रागिरि हिल्समा शनिबार बाक्लै भीड थियो। त्यसै त मनमोहक ठाउँ त्यसमाथि हिउँवर्षा, यत्ति काफी थियो, काठमाडौँमा दैनिक धुलो र धुँवामा अस्तव्यस्त भएका आन्तरिक पर्यटकहरुका लागि।
राजधानीनजिकै पर्ने चन्द्रागिरि डाँडामा हिमपात भएपछि हिउँ खेल्नहरु समूह नै बनाएर पुगेका थिए शनिबार। छिनछिनमा बदलिने मौसम, डाँडाको उचाईबाट देखिने अन्नपूर्ण, सगरमाथा हिमश्रृंखला, भालेश्वरनाथको मन्दिरजस्ता प्राकृतिक र धार्मिक आकर्षणका साथै केबलकार लगायत अन्य आकर्षणले गर्दा सामान्य समयमा पनि बाक्लै भीड लाग्ने गर्छ चन्द्रागिरिमा।
चन्द्रागिरी हिल्स लि. सुरु हुनुताका कम्पनीका अध्यक्ष चन्द्र ढकालले एक अन्र्तवार्तामा भनेका थिए, ‘उपत्यकाका करिब ५० लाख मानिसका लागि छुट्टी मनाउन निस्किने ठाउँको अभाव थियो। विदेशी पर्यटकका लागि यो मुख्य गन्तव्य हुन्छ भन्नेमा हामी विश्वस्त छौं।’ उनले भनेजस्तै बाक्लो आवागमन छ आजकल चन्द्रागिरि हिल्समा।
अहिले हिउँले मान्छे आकर्षित गरिरहेको भएपनि चन्द्रागिरिको मुख्य आकर्षण भनेको केबलकार नै हो। चन्द्रागिरि हिल्स लि.को तथ्यांक अनुसार दैनिक औषत ३ हजार पर्यटकले चन्द्रागिरि भ्रमण गर्छन्। तर, उत्साहका साथ त्यहाँ पुगेका पर्यटकहरु केही वितृष्णा पनि बोकेर फर्किन्छन्।
केबलकारमा देखिएको बेथिति
कीर्तिपुरकी आकृति कार्की शनिबार केही साथीहरुका साथ चन्द्रागिरि हिल्स जाँदै थिइन्, हिउँ खेल्ने र केबलकार चढ्ने योजनाका साथ। साथीहरुसँग बल्खुमा भेटेर निस्कँदा दिउँसोको पौने ३ भइसकेको थियो। थानकोट काटेर चन्द्रागिरि हिल्सको बाटो लागेपछि उनले अन्य साथीहरु भेटिन्।
आकृतिका ती साथीहरु चन्द्रागिरि घुमेर फर्किंदै थिए। तीमध्येका एकले कारको झ्यालबाट टाउको निकाल्दै भने, ‘जान त जाउँ, केवलकार चढ्ने भएचाहिँ सोर्सफोर्स नै लगाउनुपर्ला।’
आकृतिले ती साथीको कुरा बुझिनन्। पुग्न ढिला भएकाले होला बुझ्न पनि चाँहिनन्। उनीहरु आफ्नो बाटो लागे। आकृतिहरु दिउँसो ३ बजेर ५५ मिनेटमा चन्द्रागिरि हिल्स पुगे। जाने बित्तिकै उनीहरु केबलकार चढ्ने लाइनमा उभिए। लाइन ठूलै थियो। त्यहाँ देखिएको एउटा दृष्यले उनीहरुलाई अचम्मित बनायो। केबलकारबाट झरेर फर्किने बाटोबाट १२–१४ जनामाथि गइरहेको दृश्य सुरुमा त आकृतिले बुझ्नै सकिनन्।
[caption id="attachment_13504" align="alignnone" width="830"]
केबलकार चढ्न लामबद्ध सर्वसाधारण। र, भनसुनका आधारमा सोझै केबलकार चढ्न जाँदै गरेका यात्रु।[/caption]
त्यसबारेमा सोधपुछ गर्दै जाँदा एक जनाले भने, ‘भीड बढी भएकाले उनीहरुले पावर लगाएर डाइरेक्ट केबलकार चढ्ने व्यवस्था मिलाएका हुन्।’ चिनजान वा भनसुनका आधारमा लाइन नै नबसी केबलकार चढ्न पाइने कुरा आकृतिले त्यतिबेला मात्रै बुझिन्।
बाहिरबाट लान पाइँदैन, भित्र महँगो
दुई वर्ष अगाडि राप्रपाकी सांसद कान्ता भट्टराईले चन्द्रागिरिको अवलोकनपछि भनेकी थिइन्, ‘मन्दिरमा जाने यात्रु कतिपय बाहिर नखाने पनि हुनुहुन्छ, जस्तो म वैष्णव हुँ, बाहिर पकाएको खान्नँ। आफैले पकाएको खाना मन्दिर दर्शन गर्न जानेले लैजान त पाउनुपर्यो नि।’
त्यो अवस्था अझै यथावत छ। बाहिरबाट पकाएको खाना लिएर चन्द्रागिरि हिल्सभित्र छिर्न दिइँदैन। सुरक्षाको कारण देखाउँदै चन्द्रागिरि हिल्स (केबलकार) व्यवस्थापनले पर्यटक र भक्तजनले आफैले बनाएर ल्याएको खाद्यपदार्थ निषेध गरेको छ।
यहाँ पुग्ने पर्यटकलाई जबरजस्ती चन्द्रागिरि व्यवस्थापन अन्तर्गत सञ्चालित होटल तथा रेष्टुरेन्टकै ‘मेनु’ पछ्याउनुपर्ने बाध्यात्मक अवस्थामा पुर्याइएको छ। ‘राम्रै आम्दानी हुनेहरुका लागि त यो मेनु ठिकै हुनसक्छ,’ शनिबार चन्द्रागिरि हिल्समा भेटिएकी बनेपा निवासी अम्बु सिटौलाले भनिन्, ‘तर, हामीजस्ता सामान्य व्यक्तिहरुले चाहिँ मेनु हेरेर भोकै फर्किंनु पर्ने अवस्था रहेछ।’
तर, चन्द्रागिरि हिल्सका जनसम्पर्क प्रतिनिधि राजु पौडेलले काठमाडौंका राम्रा होटल–रेष्टुरेन्टभन्दा चन्द्रागिरिमा सञ्चालित होटलहरुमा खानेकुरा सस्तो रहेको दावी गरे।
(हेनुहोस् पौडेलसँगको अन्तरवार्ता)
पहुँचका आधारमा वातावरणीय क्षति
चन्द्रागिरि हिल्स लिको निर्माण गर्दा वनको केही हिस्सा मास्नुपर्यो। वन मास्दा त्यसले वातावरणमा नकरात्मक असर पार्ने भएपछि चन्द्रागिरि हिल्स सञ्चालकविरुद्ध त्यतिबेला उठेको आवाज अझै पनि सेलाएको छैन। आफूले हुर्काएको वन विनास गरिएपछि स्थानीय अझै आक्रोशित छन्।
पर्यटकीय गन्तव्य निर्माण गर्ने नाममा वातावरणमाथि नै खेलवाड भइरहेको बताउँदै स्थानीयले असन्तुष्टि जाहेर गर्दै आएका छन्।
सरकारले कबुलियती वनमा परिवर्तन गरी समुदायले ११ वर्ष लगाएर हुर्काएको चन्द्रागिरि जंगल चन्द्रागिरि हिल्सलाई केबलकार सञ्चालन गर्न सुम्पेको छ।
कबुलियती सूचिको वन उपभोग गर्ने सम्बन्धमा पनि त्यसको पहिलो प्राथमिकतामा गरिबीको रेखामुनि रहेका जनता पर्छन्। तर, सरकारी निकायसँगको मिलेमतोमा कम्पनीलाई केबलकार सञ्चालन गर्न वन क्षेत्र दिइएको स्थानीय बताउँछन्।