एजेन्सी– अफगानिस्तानको राजधानी काबुलमा मंगलबार आत्मघाती बम विस्फोट भएको छ। काबुलमा आज बिहान कार बम विस्फोट भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्।
राजधानी काबुलस्थित एक सैनिक एकेडेमी नजिकै आत्मघाती बम विस्फोट भएको अफगानिस्तानको गृहमन्त्रालयले पुष्टि गरेको छ। विस्फोटमा परी ५ जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमध्ये ३ जना सैनिक र २ जना सर्वसाधारण रहेको रोइटर्सले उल्लेख गरेको छ।
‘तीन सैनिक र २ जना सर्वसाधारणको ज्यान गएको छ’, अफगान गृहमन्त्रालयका प्रवक्ता नसरत राहिमीले रोइटर्सलाई बताए। राहिमीका अनुसार विस्फोटमा ५ सर्वसाधारणसहित १२ जना घाइते भएका छन्।
समाचार अनुसार सरकारले सञ्चालन गर्दै आएको मार्शल फहिम मिलिटरी एकेडेमीको गेट नजिकै मंगलबार बिहान आत्मघाती कार बम विस्फोट भएको थियो। हालसम्म उक्त विस्फोटको जिम्मा कसैले पनि लिएको छैन।
युरोपेली वार कलेजको मोडेलमा सञ्चालित मार्शल फहिम मिलिटरी एकेडेमीमा अफगान सुरक्षा फौजका क्याडेटले तालिम लिँदै आएका छन्। यसअघि पनि सो मिलिटरी एकेडेमीमा कैयौं पटक आक्रमण गरिएको थियो। गत मे महिनामा उक्त एकेडेमीमा भएको एक आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिएको थियो।
पछिल्लो पटक तालिवान लडाकु र अमेरिकाले एक शान्ति सम्झौतालाई अन्तिम रुप दिने तयारी गरिरहेका छन्। तर शान्ति सम्झौताको तयारी भइरहे पनि अफगान सुरक्षाकर्मी र अमेरिकी नेतृत्वमा रहेको फौजमाथि लडाकु समूहले आक्रमण जारी राखेका छन्।