एजेन्सी– दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसङले अहिलेसम्मकै सबैभन्दा तीब्र गतिको वाइफाइको विकास गरेको छ।
अत्याधुनिक वाइफाइ प्रविधिमार्फत पहिलेको तुलनामा डाटा संचारको अधिकतम गतिलाई ५ गुणा बढाउने कम्पनीले दावी गरेको छ। कम्पनीको अनुसार यो ६० गिगाहर्ज वाइफाइ टेक्नोलोजीमा आधारित भई निर्माण गरिएको हो।
जसबाट १ जीबीको भिडियो फाइललाई ३ सेकेण्ड वा सो भन्दा कम समयमा ट्रान्सफर वा डाउनलोड गर्न सकिनेछ। यो उच्चगतिको वाइफाइ प्रविधिबाट एचडी भिडियोहरुलाई समेत वास्तविक समयमै ट्रान्सफर वा स्ट्रिमिङ गर्न सकिनेछ। अहिले बजारमा उपलब्ध रहेका वाइफाइ राउटरहरुले २, ४ र ५ गिगाहर्जको वायरलेस च्यानल प्रयोग गर्ने गर्दछन्।
सामसङका अनुसन्धान तथा विकाश केन्द्रका प्रमुख किम चाङ योंगले आइतबार विज्ञप्ती जारी गर्दै सामसङले ६० गिगाहर्ज वाइफाइ प्रविधिको व्यवसायीकरणमा रहेको बाधा सफलतापूवर्क पार गरेको जानकारी दिएको हो।
यो सफलतासँगै सामसङ ६० गिगाहर्ज वाइफाई प्रविधिलाई अर्को वर्षदेखि व्यवसायिक रुपमा बजारमा ल्याउने लक्ष्य लिएको छ।