काठमाडौं– जिल्ला अदालत काठमाडौंले लागुऔषध मुद्दामा दोषी ठहर भएका गुण्डा नाइके रमेश बाहुन भनेर चिनिने सुजन पौडेल लाई १० वर्ष कैद र ७५ हजार जरिवाना गर्ने फैसला सुनाएको छ।
न्यायाधीश नवराज दाहालको इजलाशले २०७१ साल साउन १४ गते प्रहरीको इन्काउन्टर योजनाबाट जोगिएका उनीविरुद्ध दायर लागुऔषध मुद्दाको अभियोग सदर गर्दै सजाय तोकेका हुन्। उनी पाँच वर्षदेखि पूर्पक्षका लागि कारागारमै छन्। २०७१ साउन १९ गते जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।
हिरोइन र पेस्ताोल बरामद
रमेश बाहुन भारतमा लुकेर बसेका थिए, २०७१ असार १० गते उनलाई कलंकीको खसी बजार छेउँबाट पक्राउ परेको भन्दै प्रहरीले सार्वजनिक गरेको थियो। त्यतीबेला उनको साथबाट २८ दशमलव ४ ग्राम खैरो हिरोइन र पेस्ताोल बरामद भएको दावी गरेको थियो।
काठमाडौं उपत्यकामा गुण्डागर्दी मार्फत अबैध रकम असुलीमा संलग्न उनी लागुऔषध कारोवारमा समेत संलग्न रहेको प्रहरीको दावी थियो। सोही आधारमा उनीमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा १४ को ६ (२)अनुसार मुद्दा दायर गरिएको थियो।
बाहुन–एमाले कनेक्सन
नेपाली सेनाको जागिर छाडेर आपराधिक गतिविधिमा लागेका उनलाई हालका प्रधानमन्त्री केपी शर्मा ओलीले नै टीका लगाएर तत्कालीन एमालेमा प्रवेश गराएका थिए। त्यो बेला बाहुन प्रहरीको मोस्ट वान्टेड सूचीमा थिए।
ललितपुरमा मिनकृष्ण महर्जनमाथि गोली प्रहार भएपछि अनुसन्धानका क्रममा ललितपुरको सडक ठेक्काको विवादमा बाहुनको योजनामा श्रेष्ठमाथि गोली प्रहार भएको खुलेपछि उनी भागेर भारत पुगेका थिए।
झन्डै इन्काउन्टर
२०७१ सालमै रमेश बाहुन उर्फ सुजन पौडेलको इन्काउन्टर गर्न खोजिएको थियो। त्यसलगत्तै दिनेश अधिकारी ‘चरी’को इन्काउन्टर भएको थियो। उनी पक्राउ परेको बेला तत्कालीन एमालेको केन्द्रीय अधिवेशन चलेकाले उनको ज्यान जोगिएको थियो। उनलाई भारतबाट ल्याएको १२ दिनपछि मात्र प्रहरीले सार्वजनिक गरेको थियो।