काठमाडाैं – विद्युतीय भुक्तानी गरेमा मूल्य अभिवृद्धि कर (भ्याट) बापत तिरेको मध्ये १० प्रतिशत रकम फिर्ता पाइने भएको छ। आन्तरिक राजश्व विभागमा भएको कार्यक्रममा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले भ्याट फिर्ता कार्यान्वनयको औपचारिक रुपमा शुभारम्भ गरेका हुन्।
पहिला विद्युतीय कार्डमार्फत भुक्तानी गर्दा मात्रै भ्याटको १० प्रतिशत रकम फिर्ता हुने नियम थियो। तर अहिले उपभोक्ताले कुनै सामान किने बापत नगद वा चेकको साटो कार्ड, इ बैंकिङ्ग वा इण्टरनेट बैंकिङ्ग वा ई सेवा, खल्ती, आइएमई पे, प्रभु पे, फोन पे, सेल पे लगायतबाट पैसा तिरेमा भ्याट बापतको रकमको १० प्रतिशत उपभोक्ताको खातामा फिर्ता आउनेछ।
यद्यपी यस्तो सुविधा व्यवसायिक प्रयोजनको खरीदमा नभई व्यक्तिगत उपभोगका लागि हुने खरीदमा मात्रै पाइनेछ। त्यसमा पनि एक हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्मको कारोबारमा मात्रै भ्याट फिर्ताको व्यवस्था लागु हुने गरी कार्यप्रक्रिया बनाइएको छ ।
विद्युतीय भुक्तानी अर्थात् डिजिटल पेमेण्ट गर्ने क्रम बढाउन सरकारले यस्तो निमय लागू गरेको हो। हालसम्म तीन वटा बैंक मात्र यस प्रणालीमा जोडिएको आन्तरिक राजस्व विभागले जानकारी दिएको छ।