एजेन्सी– माउन्ट मान्गनुईमा भारतसँग एकदिवसीय क्रिकेट सिरिज न्यूजिल्याण्डले ३–० ले ‘क्लिन स्विप’ गरेको छ। आज अन्तिम खेलमा भारतलाई ५ विकेटले हराउँदै न्यूजिल्याण्डले सिरिज ‘क्लिन स्विप’ गरेको हो। सिरिजको अन्तिम खेमला भारतले दिएको २ सय ९७ रनको लक्ष्य न्यूजिल्याण्डले ४७.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
उसका लागि हेनरी निकोल्सले ८०, मार्टिन गुप्टिलले ६६, कोलिन डी ग्रान्डहोमले अविजित ५८, कप्तान केन विलियम्सनले २२, टम लाथमले नटआउट ३२, जिमी नीशमले १९, रस टेलरले १२ रनको योगदान दिए।
बलिङमा भारतीय टीमका युजवेन्द्र चहलले ३, शार्दुल ठाकुर र रवीन्द्र जडेजाले एक–एक विकेट लिए। यसअघि टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धािरत ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९६ रन बनायो। उसका लागि विकेटकीपर–ब्याट्सम्यान केएल राहुलले शतक बनाए। उनले ११३ बलमा २ छक्का र ९ चौका प्रहार गर्दै ११२ रनको योगदान दिए।
एकदिवसीय क्रिकेटमा राहुलको यो चौथो शतक हो। यस्तै श्रेयस अय्यरले ६२, मनिष पाण्डेले ४२, पृथ्वी शाहले ४० रन बनाए। अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। बलिङमा न्यूजिल्याण्ड टीमका हमीश बेनेटले ४, जिमी नीशम र काइली जेमिशनले एक–एक विकेट लिए।