काठमाडाैं– ओमानले त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालमा जारी प्रतिस्पर्धामा शत प्रतिशत नतिजा निकालेको छ। आज भएको खेलमा अमेरिकालाई ९२ रनको फराकिलो अन्तरले हराउदै ओमानले नेपालमा खेलेका चारै खेलमा जित निकालेको हो। अमेरिकाको भने यो लगातार तेस्रो हार हो।
ओमानले दिएको २ सय ७७ रनको लक्ष्य पछ्याएको ओमान ३९ दशमलव १ ओभरमा १ सय ८४ रनमा समेटियो। निस्राग पटेलले सर्बा्धिक ५२ रन बनाएको अमेरिकाको ईनिङसमा आरोन जोनेसले ४७ र ईयान होल्याण्डले २८ रन जोडे।जेभियर मार्सलले २३ र रोष्टि थेरोनले १२ रन बनाए। अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्। ओमानका आबि ईल्यास र बिलाल खानले समान ३ तथा जेसान मक्सुदले २ विकेट लिए। महम्मद नादिमको नाममा १ विकेट रह्यो।
यसअघि कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा टस जितेको अमेरिकाले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको ओमानले निर्धा्रित ओभरमा ६ विकेट गुमाएर २ सय ७६ रनको योगफल तयार पारेको थियो। कप्तान जेसान कमसुद र आकिब ईल्यासले तेस्रो विकेटका लागि २ सय १६ रनको साझेदारी गरेपछि ओमान उच्च योगफल बनाउन सफल बन्यो।
अमेरिकाबिरुद्ध ओमानका यी दुबै खेलाडीले शतक बनाए। लगातार दोस्रो शतक बनाउने क्रममा ईल्यासले १ सय २३ बल खेल्दै ११ चौका र १ छक्का प्रहार गरी १ सय ५ रन जोडे। १ सय ९ बल खेलेका मकसुदले १० चौका र ४ छक्काको मद्दतमा १ सय ९ रन बनाए। सन्दिप गौडले १३, खाबर अली १० र जितेन्दर सिंह ९ रनमा पभेलियन फर्किए।
अमेरिकाका सौरभ नेत्रभाल्करले ३ तथा रुष्टि थेरोनले २ विकेट लिए। सिरिजको अन्तिम खेलमा नेपालले भोली अमेरिकासंग प्रतिस्पर्धा गर्नेछ।