काठमाडौं– संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सोमबार राति लागेको आगलागीबारे छानबिन गर्न छानबिन समिति गठन गरेको छ।
सोमबार बसेको सचिवस्तरको बैठकले मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो।
समितिको सदस्यहरुमा मन्त्रालयकै उपसचिव राजन नेपाल, प्रहरी प्रधान कार्यालयका एसपी केदार ढकाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक कूलप्रसाद सिंखडा र उपनिर्देशक विक्रम गौतम सदस्य रहेका छन्।
समितिले घटनाको सत्य तथ्य पत्ता लगाइ ७ दिनभित्र समितिलाई सुझावसहितको प्रतिवेदन पेश गर्ने जिम्मा पाएको छ। आवश्यक परे अन्य विज्ञहरुको सेवा सहयोग लिन सक्ने र आवश्यक कर्मचारी तथा सचिवालय मन्त्रालयले तोक्ने सक्ने निर्णयसमेत बैठकले गरेको छ।
सोमबार राति सवा ८ बजेको समयमा विमानस्थलको प्रस्थान कक्षमा सञ्चालित कफी पसलमा आगलागी हुँदा केही समय अडान र अवतरण अवरुद्ध भएको थियो।