भक्तपुर– सुर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ को पुस मसान्तसम्म रु ८२ करोड ९५ लाख ५८ हजार ९९४ आम्दानी गरेको छ। कूल रु एक अर्ब ३० करोडको बजेट स्वीकृत गरेको नगरपालिकाले स्वीकृत वार्षिक बजेटको ६३ दशमलव ८१ प्रतिशत लक्ष्य हासिल गरेको नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिएका छन्।
उनले आम्दानीतर्फ आन्तरिक आयको हिस्सा ६६ प्रतिशत र बाह्य आयको ३४ प्रतिशत रहेको बताएका छन्। बाँकी ६ महिनाको अवधिमा लक्ष्यको तुलनामा थप ३६ दशमलव १९ प्रतिशत अर्थात रु ४७ करोड ४ लाख १० हजार ५८ आय प्राप्त गर्ने लक्ष्य पूरा गर्ने बताएका छन्।
विसं २०७६ पुस १५ गतेसम्म चालु र पूँजीगत खर्चका लागि मूल सञ्चित कोषबाट चालु खातामा रु १८ करोड ५७ लाख ५२ हजार र पूँजीगत खातामा रु १५ करोड गरी जम्मा रु ३३ करोड ५७ लाख ५२ हजार रकम सारिएको उनले जानकारी दिएका छन्। नगरपालिकाले पुस मसान्तसम्म रु ४९ करोड ३८ लाख ३७ हजार ९४१ र पैसा ६० सञ्चित गरेको नगर प्रमुख थापाले बताएका छन्।
त्यस्तै पूँजीगत खर्च रु १२ करोड ८५ लाख ९४ हजार ५७८ र शिक्षकको तलबभत्ता, स्वास्थ्य तर्फ कर्मचारीको तलब भत्ता, सङ्घीय सरकार र प्रदेश सरकारको अनुदानको चालू खर्च रु १६ करोड ०६ लाख ११ हजार २४६ र सामाजिक सुरक्षाबापत रु तीन करोड ७१ लाख खर्च भएको छ। कूल खर्च रु ३२ करोड ६३ लाख ०५ हजार ८२४ भएको र प्रथम छ महिनामा लक्ष्यको तुलनामा ६४ प्रतिशत आम्दानी भएको र खर्चभने २५ प्रतिशत मात्रै भएको र दोस्रो चौमासिकभित्र थप रु ५० करोड बराबर खर्च हुने बताएका छन्।
स्वीकृत कूल पूँजीगत बजेट रु ६९ करोड २० लाखका सबै योजना उपभोक्ता समिति तथा ठेक्का प्रक्रियामा कार्य भइरहेको जानकारी दिँदै उनले योजनाको सङ्ख्या ४२५ बटा रहेका छन्। कार्यक्रममा नगरपालिकाका उपप्रमुख जुना बस्नेतले समृद्ध नगरपालिका बनाउन जनप्रतिनिधि र कर्मचारी सक्रिय रहेको बताएका छन्।
नेकपाका जिल्ला अध्यक्ष वचन देउजा, नेपाली काँग्रेसका जिल्ला सचिव निशान ढुङ्गेल, गैरसरकारी संस्था महासङ्घ भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाईं, क्रियाशील पत्रकार मञ्चका अध्यक्ष रमेश गिरी लगायतलेसमयमै काम सक्नुपर्नेमा सुझाव दिएका छन्। रासस