काठमाडौँ २८ माघ– चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को छायाङ्कन बेलायतको राजधानी लण्डनमा सुरु भएको छ। चलचित्रको छायाङ्कनका लागि केही दिनअगाडि कलाकार र निर्माण टिम लण्डन पुगेको हो।
लण्डनमै करिब ५० दिनको चलचित्रको छायाङ्कन रहनेछ। छायाङ्कन आरम्भ गर्नुअगाडि चलचित्रका कलाकार र टिमले शुभमुहुर्त गर्दै छायाङ्कन सुरु गरेका छन्। पुजापश्चात नायिका पूजा शर्मा र नव–नायक सोनम तोप्देनले पहिलो सर्ट दिएका छन्। चलचित्रमा आकाश श्रेष्ठ, सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्य लगायतका कलाकारको पनि मुख्य भूमिका रहेको छ।
निर्देशक थापाले लण्डन, स्कटल्याण्ड र वेल्समा चलचित्रको छायाङ्कन हुने बताए। एबी इन्टरनेशलको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको छायाङ्कन बेलायतपछि नेपालको मुस्ताङमा हुनेछ। अमित बस्नेतको लगानी रहेको चलचित्रमा अंकित गौतम र सनिष खकुरेल कार्यकारी निर्माता हुन्।
त्रिकोणात्मक प्रेमकथामा आधारित भएर बन्ने चलचित्रमा परि राना र अजितकुमार थापाको सहनिर्माण रहेकोछ। महेश दवाडीको कथा रहेको चलचित्रमा अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, सौरभ लामाको छायाङ्कन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ। चलचित्र सुदर्शन थापाको निर्देशनमा बन्न लागेको हो।