काठमाडौं– आज (बिहिबार) २५ औं जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र उसका भ्रातृ संगठनहरुले विभिन्न कार्यक्रम आयोजना गरेका छन्।
नेकपा केन्द्रीय कार्यालयको आयोजनामा पार्टी कार्यालय धुम्बाराहीमा गरिएको श्रद्धाञ्जलीसभा कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागी हुने भनिएको थियो। तर ओली भने सहभागी भएका छैनन्।
यसअघि नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले संयुक्त रुपमा सूचना जारी गरी ओली र प्रचण्ड दुवैको सहभागीतामा कार्यक्रम हुने जानकारी दिएका थिए। प्रधानमन्त्री ओली जनयुद्ध दिवसको अवसरमा अघिल्लो वर्ष आयोजना गरिएको कार्यक्रममा पनि सहभागी भएका थिएनन्।
यसैबीच जनयुद्ध र जनआन्दोलनका शहीदहरुको स्मृतिमा नेकपाका भ्रातृ संगठनहरुले आज विभिन्न कार्यक्रम गर्दैछन्। आजै ११ बजे जनक्रान्तिका घाइते अपांग योद्धा संघले महाराजगञ्जस्थित रोयल पार्टी प्यालेसमा कार्यक्रम गरिने जनाएकाे थियाे भने जनसाँस्कृतिक महासंघले १ बजे पार्टी कार्यालय पेरिसडाँडामा र वेपत्ता योद्धा फाउन्डेशनले दिउँसो २ बजे जनपथ मावि कलंकीमा कार्यक्रम आयोजना गर्दैछन्।
यसैगरी नेकपा सम्बद्ध अनेरास्ववियूले पाँच बजे माइतीघर मण्डलामा दीप प्रज्ज्वलन गर्दैछ। अनेरास्ववियूले देशभरका क्याम्पसहरुमा जनयुद्ध र जनआन्दोलनका शहिदहरुको स्मृतिमा श्रद्धान्जली सभा तथा दीप प्रज्ज्वलन कार्यक्रम गर्न सर्कुलर गरेको छ। यसैक्रममा बिहीबार बिहान आरआर क्याम्पसमा २५ औं जनयुद्ध दिवस जिन्दाबाद लेखिएको ब्यानरसहित बेलुन उडाइएको छ।