काठमाडौं– नेकपाका उपाध्यक्ष वामदेव गौतमले जनयुद्ध जस्तो ठूलो बलिदान संसारको इतिहासमा नभएको बताएका छन्। जनआन्दोलन र जनयुद्धका शहीदको स्मृतिमा आयोजित श्रद्धाञ्जलिसभामा बोल्दै गौतमले यस्तो बताएका हुन्।
नेपालको जनयुद्धको घटना विश्व इतिहासमा विरलै हुने ऐतिहासक घटना भएको जनाउँदै जनयुद्ध र जनआन्दोलनले सामन्तवादलाई परास्त गरेको र साम्राज्यवादलाई कमजोर बनाउने गौतमले उल्लेख गरे। उनले भने ‘जनयुद्ध बलिदानको युद्ध हो, मुक्ति र सङ्घर्षको युद्ध हो, यति ठूलो बलिदान संसारको इतिहासमा भएको थिएन, ती शहीदहरुलाई सम्मान गर्दै अब हामीले बहुदलीय प्रतिस्पर्धाका आधारमा समाजवाद स्थापनामा लाग्नुपर्छ।’
उपाध्यक्ष गौतमले जनयुद्धका क्रममा तत्कालीन एमालेका करीब ३ सय नेता–कार्यकर्ता मारिएकामा त्यसको लेखाजोखा पनि हुनुपर्ने बताए। कार्यक्रममा शहीदहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको थियो। तत्कालीन एमाले र माओवादी केन्द्रबीच गत २०७५ जेठ ३ गते एकता भएपछि हरेक फागुन १ लाई ‘जनआन्दोलन र जनयुद्धका शहीदको स्मृतिमा आयोजित श्रद्धाञ्जलिसभा’ का रुपमा मनाउन थालिएको छ।