काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र विद्रोहका घाइते तथा अपाङ्गहरुलाई एनजीओको पछि नलाग्न आग्रह गरेका छन्।
बिहीबार जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संघ नेपालको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले संक्रमणकालीन न्यायका मुद्दाहरु टुंग्याउने वातावरण बनेको बताए। हिजो कांग्रेस, पूर्वएमाले र पूर्वमाओवादीले एकअर्कालाई कमजोर देखाउन खोज्दा सत्य निरुपण र वेपत्ता आयोगमा ६४ हजारबढी मुद्दा परेको भन्दै उनले भने ‘समझदारी भएको भए २ हजार, २५ सयमा झार्न सकिन्थ्यो।’
अन्तर्राष्ट्रिय समुदायमा पनि दुई थरी मत रहेको भन्दै उनले कतिपयलाई शान्ति प्रक्रियाका बाँकी काम २०–२५ वर्ष नटुंगिओस्, खेल खेल्न पाइराखियोस् र केही मान्छेलाई लाभ दिने उद्योग चलाइराख्न पाइयोस् भन्ने लागेको सुनाए।
‘घाइते योद्धाहरुको सानोसानो टिम बनाउने, लिएर हिँड्ने र एउटा खेती गर्ने। तपाईहरुलाई चाहिँ कार्यक्रममा ख्वाइदियो, प्याइदियो। मोटो रकम चाहिँ चलखेल गर्ने आईएजीओवादीहरुले नै लिने उद्योग चलिरहेको छ’ प्रचण्डले भने।
अब यो उद्योग राखिराख्न हुन्न र शान्ति प्रक्रियाका बाँकी काम छिटो टुंग्याउनुपर्छ भन्नेमा पार्टीहरु र सरकार सहमत भएको नेकपा अध्यक्ष प्रचण्डले बताए। उनले भने, ‘अब कोही विदेशी गैरसरकारी संस्थाले यो गरिदिन्छौं, त्यो गरिदिन्छौं, यहाँ जानर्पयो, त्यहाँ जानर्पयो भन्यो भने त्यसको पछि नलाग्नु होला।’
घाइते तथा अपाङ्गहरुलाई जे गर्नुपर्ने हो दलहरु र सरकारले गर्नुपर्ने भन्दै उनले छिट्टै परिचयपत्र, राहत प्याकेज दिइने आश्वासन दिए। हाल कतिपय देश र संस्थाहरु सरकारमार्फत सहयोग गर्न तयार छौं भनेर आएको र केहीले करिव एक हजार घाइते तथा अपाङ्गलाई विदेश लैजाने बताएको प्रचण्डले सुनाए। २०० जतिलाई तुरुन्तै लैजान्छौं भनेको भन्दै उनले जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संघ नेपालमार्फत ठोस प्रस्ताव लिएर आउन आग्रह गरे।